तुलसी घिमिरेको ‘पहाड’को टिजर सार्वजनिक : दर्शकले सम्झिए सुनील थापालाई
काठमाडौं : नेपाली चलचित्र क्षेत्रका चर्चित खलनायक स्वर्गीय सुनील थापा अभिनित फिल्म ‘पहाड’ को टिजर सार्वजनिक भएको छ।
दुई साताअघि हृदयघातका कारण असामयिक निधन भएका थापालाई दर्शकले फिल्मको टिजरमा सम्झिएका छन्।
ओएसआर डिजिटलको युट्युब च्यानलबाट टिजर सार्वजनिक भएसँगै कमेन्ट बक्समा दर्शकहरूले थापाको अभिनय र व्यक्तित्वको चर्चा गर्दै 'मिस यु' लेखेका छन्। टिजरमा देखिएका कमेन्टहरूमा अधिकांशले निर्देशक घिमिरेको कामको तारिफ गर्दै सुनील थापाको अभाव खड्किएको उल्लेख गरेका छन्।
यस फिल्ममा थापाको आवाज सुन्न सकिन्छ। यद्यपि उनको अर्को फिल्म ‘राम नाम सत्य’मा भने अन्य कलाकारको आवाज प्रयोग गरिएको छ।
तुलसी घिमिरेको निर्देशनमा बनेको ‘पहाड’ले गाउँघरका रित्ता बन्दै गएका पहाड र युवा जनशक्ति विदेश पलायन हुँदा उत्पन्न हुने सामाजिक तथा आर्थिक पीडालाई मुख्य विषयवस्तु बनाएको देखिन्छ।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनील थापा, विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनयमा डेब्यु गराएका छन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्।
‘अन्याय’, ‘कोसेली’, ‘चिनो’, ‘दक्षिणा’ जस्ता हिट फिल्ममा सहकार्य गरेका छायाँकार प्रमोद प्रधानले नै यो फिल्म खिचेका हुन्। साथै, वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको सङ्गीत र कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन रहेको छ।
उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन्। भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छन्।
फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ। भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्मित यस फिल्मलाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गर्नेछन्।
फिल्म ‘पहाड’ आगामी नयाँ वर्ष २०८३ वैशाख १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।
चैत १, २०८२ आइतबार १८:५७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।