निर्वाचनमा ऐतिहासिक सफलता पाएको भन्दै रास्वपालाई उज्यालो नेपालको बधाई

निर्वाचनमा ऐतिहासिक सफलता पाएको भन्दै रास्वपालाई उज्यालो नेपालको बधाई

काठमाडौं : उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता पाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएको छ। निर्वाचनपछि बसेको पार्टीको समीक्षा बैठकले रास्वपालाई बधाई दिने निर्णय गरेको हो।

फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा निर्वाचनमा पाएको जनमत हार नभई भविष्यको उज्यालो यात्राका लागि मूल्यवान् बीउका रूपमा ग्रहण गर्ने निर्णय समेत गरेको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय समिति सदस्यहरू, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू, प्रदेश संयोजकहरू, जिल्ला संयोजकहरू तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

पहिलो दिन उम्मेदवार, प्रदेश तथा जिल्ला संयोजकहरूबीच भएको गहन छलफलमा निर्वाचनका क्रममा प्राप्त अनुभव, जनसम्पर्कको स्वरूप, संगठन विस्तारका सम्भावना, मतदाताको मनोविज्ञान, प्रचारप्रसारका चुनौतीहरू तथा छोटो समयमा पार्टीले निर्माण गरेको राष्ट्रिय उपस्थितिबारे विस्तृत समीक्षा गरिएको थियो ।

सहभागीहरूले सीमित समय, न्यून स्रोतसाधन तथा प्रारम्भिक संगठनात्मक अवस्था भए पनि पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गरेको समीक्षा गरेको प्रवक्ता डा.राजु थापाले जानकारी दिए।

बैठकले पार्टीको संगठन निर्माण, सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति तथा प्रदेश, जिल्ला र स्थानीय तहसम्मका संरचनाहरूलाई व्यवस्थित, दिगो र कार्यमुखी बनाउनेमा विशेष जोड दिएको थियो।

समीक्षा बैठकमा अध्यक्ष घिसिङले चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले देशभर उल्लेखनीय सद्भाव, विश्वास तथा जनसमर्थन प्राप्त गरेको भन्दै यसैको आधारमा संगठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान, स्थानीय जनसम्पर्क तथा आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने बताएका थिए।

चैत १, २०८२ आइतबार १६:३२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।