चुनावी हारको कारण पत्ता लगाई प्रतिवेदन पठाउन कांग्रेसको परिपत्र

चुनावी हारको कारण पत्ता लगाई प्रतिवेदन पठाउन कांग्रेसको परिपत्र

काठमाडौं : हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनपेक्षित पराजय बेहोरेको नेपाली कांग्रेसले चुनावी समीक्षाको प्रक्रिया अघि बढाएको छ।

कांग्रेसले प्रदेश र जिल्ला कार्यसमितिका साथै उम्मेदवारहरूलाई शुक्रबार परिपत्र गर्दै पार्टीका उम्मेदवारहरू पराजित हुनुको कारण पत्ता लगाएर केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन निर्देशन दिएको हो।

पार्टीका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षर गरिएको उक्त परिपत्रमा निर्वाचनको परिणामबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।

पार्टी संगठनलाई थप मर्यादित बनाउन कांग्रेसले विधानको व्यवस्थाअनुसार जिल्ला र प्रदेश तहमा अनुशासन समिति छिटो गठन निर्देशन दिइएको छ। पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ३ र ५ अनुसार गठन हुनुपर्ने समितिहरूको विवरण तत्काल केन्द्रमा पठाउन आग्रह गरेको छ।

समिति गठन भइसकेको भए संयोजक र सदस्यहरूको सम्पर्क नम्बरसहितको विवरण पठाउन भनिएको छ। निर्वाचनमा पराजयका कारणसहित सुधारका पक्षहरूलाई समेटेर तयार हुने विस्तृत प्रतिवेदनको आधारमा संगठनलाई सुदृढ बनाउन पार्टीको भावी रणनीति तयार गरिने कांग्रेसले जनाएको छ।

पार्टीले अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन बुझाउनका लागि आगामी चैत ३ गतेसम्मको अन्तिम समयसीमा तोकेको छ। पार्टी संगठनलाई अझ सुदृढ, गतिशील र प्रभावकारी बनाउने उद्देश्यका साथ समीक्षा प्रक्रिया थालिएकोले यसलाई गम्भीरतापूर्वक लिन कांग्रेसले नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।

चैत १, २०८२ आइतबार १४:११:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।