रास्वपाको सचिवालय बैठक सुरु, रवि र बालेन बैठकस्थलमा अनुपस्थित

रास्वपाको सचिवालय बैठक सुरु, रवि र बालेन बैठकस्थलमा अनुपस्थित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली टुङ्ग्याउन बैठक बोलाइएको थियो।

‘क्लस्टर’ मिलाएर समानुपातिक बन्दसूचीअनुसार निर्वाचित हुनेको नाम तीन दिनभित्र पठाउन निर्वाचन आयोगले बिहीबार दलहरूलाई पत्र पठाएको थियो। उक्त समयसीमा आइतबार सकिँदै छ। आइतबारको बैठकबाट समानुपातिक सांसदको नाम टुङ्ग्याएर आयोगमा पठाउने रास्वपाको तयारी छ।

बैठकमा पार्टी सभापति रवि लामिछाने स्वास्थ्य अवस्थाका कारण भौतिक रूपमा उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट सहभागी भएका छन्। उनी केही दिनदेखि अस्वस्थ रहेर घरमै आराम गरिरहेका छन्। पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह 'बालेन' पनि बैठकमा सहभागी भएका छैनन्।

आगामी केन्द्रीय कमिटी र सचिवालय बैठकले विधान संशोधन गरी उनलाई संसदीय दलको नेता चयन गर्ने प्रक्रिया पूरा गरेपछि मात्र उनी औपचारिक बैठकहरूमा सहभागी हुने बताइएको छ।

बैठकमा प्रमुख एजेण्ड प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको नामावलीलाई अन्तिम रूप दिई आयोगमा बुझाउनु रहेको छ। एमाले र श्रम संस्कृति पार्टीले शनिबार नै आफ्नो सूची टुङ्ग्याइसकेका छन्। रास्वपासहित नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) आइतबार सांसदको टुंगो लगाएर नाम बुझाउने तयारीमा छन्।

बैठकअघि सञ्चारकर्मीहरूसँग पार्टी प्रवक्ता मनिष झाले नयाँ सरकार निर्माण प्रक्रियाका लागि अझै करिब १० दिन लाग्न सक्ने संकेत गरे। निर्वाचनमा प्राप्त जनमतपछि रास्वपाले नयाँ सरकार र संसदीय दलको नेतृत्वका विषयमा पनि छलफल अघि बढाएको छ। 

बैठकमा पार्टीका वरिष्ठ नेता बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएकोले उनलाई संसदीय दलको नेता चयन गर्न आवश्यक विधान संशोधन गर्ने विषयमा समेत छलफल हुने बुझिएको छ। समानुपातिक सूचीको अन्तिम निर्णयसँगै बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सरकार गठनका विकल्पहरूबारे समेत गम्भीर विमर्श हुने पार्टीले जनाएको छ।

चैत १, २०८२ आइतबार १३:३२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।