जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्टको माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्टको माग

काठमाडौं : जेन्जी मुभमेन्ट नेपालले गत भदौ २३ र २४ गते भएका आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गरेर मुभमेन्टले आन्दोलनका क्रममा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको हो। प्रतिवेदन सार्वजनिक नभएसम्म देशमा न्याय र स्थायित्व कायम हुन नसक्ने संगठनको ठहर छ।

पारदर्शिता र उत्तरदायित्वको सिद्धान्त विपरीत प्रतिवेदन गोप्य राखिनु स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ। सत्य लुकाएर वा दोषीलाई संरक्षण दिएर अघि बढ्ने कुनै पनि राजनीतिक प्रक्रिया जनभावना र लोकतान्त्रिक मूल्य विपरीत हुने संगठनले जनाएको छ।

जेन्जी मुभमेन्ट नेपालले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै नयाँ सरकार गठन गरिनुपर्ने अडान राखेको छ। आफ्नो मागप्रति दबाब सिर्जना गर्न मुभमेन्टले आज काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ। साथै, देशभर एकैसाथ आयोजना गरिने विरोध प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई समेत अपिल गरेको छ।

चैत १, २०८२ आइतबार ०९:२६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।