बेनी हाइड्रोपावरको आइपिओ आजदेखि खुला
काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसअन्तर्गत १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
त्यसमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका-२, ३ र ४ का बासिन्दाका लागि, ३ लाख १२ हजार कित्ता वडा नं. ५, ६, ७ र ११ का बासिन्दाका लागि तथा २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य बासिन्दाका लागि छुट्याइएको छ।
त्यस्तै, १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
स्थानीयका लागि आवेदन चैत १५ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ५ गतेसम्म र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सकिनेछ। आइपिओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
चैत १, २०८२ आइतबार ०९:१७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।