एलपी ग्यास लुकाउने पोखराको डिलरलाई ५० हजार जरिवाना
काठमाडौं : अभावको बेलामा एलपी ग्यास लुकाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले पोखरा– ६ जरेवरको भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना गरेको छ। डिलरले ४८ थान ग्यास सिलिन्डर (१४.२ केजी) लुकाएर राखेर कृत्रिम अभाव खडा गरेको भन्दै प्रशासनले जरिवाना गराएको हो।
शनिवार जिल्ला प्रशासनसहितको एक टोलीले बजार अनुगमन गरेको थियो। सो डिलरमा एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने उपकरणसमेत फेला परेको छ। उनीमाथि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको प्रशासनले जानकारी दिएको छ।
इरानमा अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि विश्वव्यापी रूपमै इन्धनको अभाव बढेको छ। त्यसको प्रभाव नेपालमा समेत परेको छ। कृत्रिम अभाव गराउन ग्यास लुकाउन सक्ने भनेर कास्कीका सहायक सिडिओ एवं निरीक्षण अधिकृत शिव लम्साल र अर्का सहायक सिडिओ चित्रांगत बराल नेतृत्वमा उपभोक्ता अधिकारकर्मी लगायतको टोलीले पोखराका ५ वटा ग्याँस डिलरहरूको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा ३ वटा डिलरमा ग्यासको अनुचित भण्डारण नभएको र एउटा डिलरमा ३ सय २४ थान ग्यास सिलिन्डर झार्दै गरेको अवस्थामा फेला परेको थियो।
फागुन ३०, २०८२ शनिबार २१:३२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।