दक्षिण कोरियामा तैनाथ रक्षा प्रणाली मध्यपूर्व सार्दै अमेरिका
एजेन्सी : अमेरिकाले दक्षिण कोरियामा तैनाथ 'थाड' (टर्मिनल हाई-अल्टिच्युड एरिया डिफेन्स) क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका केही उपकरण मध्यपूर्व पठाउन लागेको छ। इजरायल र इरानबीच द्वन्द्व चर्किएको र मध्यपूर्वमा तनाव बढिरहेको समयमा अमेरिकाले यस्तो कदम चालेको हो।
इरानले जोर्डनमा रहेको थाड प्रणालीको एउटा महत्त्वपूर्ण राडार नष्ट गरेको विवरण सार्वजनिक भएलगत्तै अमेरिकाले आफ्नो प्रतिरक्षा मजबुत बनाउन दक्षिण कोरियामा तैनाथ 'थाड' केही उपकरण मध्यपूर्व पठाउने निर्णय लिएको बताइएको छ।
पछिल्लो समय इजरायल र अमेरिकाका क्षेत्रीय सैन्य अखडाहरूलाई लक्षित गर्दै इरानले ड्रोन र ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ। न्युयोर्क टाइम्सको तथ्याङ्कअनुसार इरानले हालसम्म ५०० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ।
रक्षा विश्लेषकहरूका अनुसार अधिकांश क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिए पनि निरन्तरको आक्रमणले अमेरिकी सैन्य स्रोतसाधनमाथि दबाब बढेको छ। इरानसँगको द्वन्द्व लम्बिन सक्ने र यसमा अमेरिकाका अन्य साझेदार राष्ट्रहरू पनि प्रभावित हुन सक्ने आंकलन गर्दै अमेरिकाले 'थाड' प्रणालीलाई मध्यपूर्वमा केन्द्रित गर्न लागेको छ।
यही महिनाको सुरुमा इरानी आक्रमणबाट जोर्डनस्थित करिब ३० करोड डलर मूल्य बराबरको थाड प्रणालीको राडार नष्ट भएको विवरण आएको थियो। अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनले विकास गरेको 'थाड' उच्च आकाशबाट प्रहार हुने छोटो र मध्यम दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रहरूलाई लक्षित विन्दुमा पुग्नु अगावै नष्ट गर्न प्रयोग गरिने अत्याधुनिक प्रतिरक्षा प्रणाली हो।
उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र परीक्षणबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सन् २०१७ मा अमेरिकाले पहिलो पटक दक्षिण कोरियामा 'थाड' तैनाथ गरेको थियो। त्यति बेला दक्षिण कोरिया नै लक्षित आक्रमणको केन्द्र बन्न सक्ने भनेर स्थानीय स्तरमा उक्त कदमको विरोध भएको थियो। -बीबीसी
फागुन ३०, २०८२ शनिबार १९:१४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।