ग्यासको कालोबजारी रोक्न जुम्ला प्रशासनको एक्सन: आयात र बिक्रीको दैनिक विवरण राखिने

ग्यासको कालोबजारी रोक्न जुम्ला प्रशासनको एक्सन: आयात र बिक्रीको दैनिक विवरण राखिने

जुम्ला : जुम्लाको सदरमुकाम र आसपासका क्षेत्रमा खाना पकाउने ग्यासको माग बढेसँगै जिल्ला प्रशासन कार्यालयले वितरण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ नियम लागू गरेको छ।

बसपार्क क्षेत्रमा ग्यास लिन उपभोक्ताहरूको भीड बढ्न थालेपछि सम्भावित अभाव र कालोबजारी रोक्न प्रशासनले सक्रियता देखाएको हो।

ग्यास आपूर्तिमा समस्या आउने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले उद्योग वाणिज्य संघ जुम्ला, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय तथा ग्यास डिलरहरूसँग बैठक बसी वितरण व्यवस्थालाई व्यवस्थित बनाउने निर्णय गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले जुम्लामा एलपी ग्यासको अभाव हुन नदिन वितरण प्रणालीलाई पारदर्शी बनाउने निर्णय गरेको हो।

न्यू बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले ग्यास वितरण गर्दा उपभोक्ता र सिलिण्डरको अभिलेख राखेर मात्र वितरण गर्ने व्यवस्था मिलाउने भएको छ।

यसैगरी डिलरबाट ल्याइने ग्यास सिलिण्डरको पनि अभिलेख राखिनेछ। यस व्यवस्थाबाट कालोबजारी नियन्त्रण गर्नुका साथै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्य राखिएको प्रशासनले जनाएको छ।

प्रशासनले अब जिल्ला बाहिरबाट कति ग्यास आयात भयो, डिलर तथा सहायक पसलमार्फत कति वितरण भयो र उपभोक्तासम्म कति पुगेको छ भन्ने विवरणसमेत फरमेटका आधारमा अभिलेख राखिने जनाएको छ।

फागुन ३०, २०८२ शनिबार १७:२९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।