एमालेले समानुपातिक सांसदको लागि क-कसको नाम पठायो ?

एमालेले समानुपातिक सांसदको लागि क-कसको नाम पठायो ?

काठमाडौं : एमालेले प्रतिनिधिसभाका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ।

शनिबार भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासमा बसेको सचिवालय बैठकले बन्दसूचीमा रहेका नामहरूमध्येबाट १६ जनाको नामावली टुंग्याएको हो।

प्रत्यक्षतर्फ नौ सिट जितेको एमालेले समानुपातिकतर्फ १४ लाख ५५ हजार मत खस्दा प्राप्त गरेको १६ सिटका लागि समावेशी सिद्धान्तअनुसार नाम सिफारिस गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए। सचिवालय बैठकबाट अनुमोदन भएको सूची अब निर्वाचन आयोगमा बुझाइनेछ।

भट्टका अनुसार आदिवासी/जनजाति क्लस्टरका ४ जनामध्ये महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठको नाम पठाइएको छ भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन्।

त्यस्तै, ५ जना खस-आर्य क्लस्टरमा ३ महिला र २ पुरुष छन्। महिलातर्फ पद्मा अर्याल, टुकाभद्र हमाल र यशोदा कुमारी बराल रहेका छन् भने पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेल छन्।

थारु क्लस्टरबाट कृपाराम राना छन्। दलित क्लस्टरमा विष्णुमाया विक र नीता घतानीको नाम सिफारिस गरिएको छ। मधेशी क्लस्टरबाट रिङ्ला यादव, यशोधाकुमारी यादव र चण्डेश्वर मण्डल छन् भने मुस्लिमतर्फ साजिदा सिद्धिकीको नाम सिफारिस गरिएको छ।

त्यस्तै, बैठकले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ। ९७ वर्षीय मोहनप्रसाद ओलीको शुक्रबार उपचारका क्रममा निधन भएको थियो। 

फागुन ३०, २०८२ शनिबार १५:३६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।