लिङ्देनको कारबाहीमा परेका दुई नेता भन्छन्- ‘चुनावी हारको दोष हामीमाथि थोपरियो, कारबाही विधानसम्मत छैन’
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कारबाहीमा परेका तत्कालीन उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूहरूमाथि गरिएको कारबाही पार्टी विधानविपरीत भएको दाबी गरेका छन्।
शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले स्पष्टीकरणको मौकासमेत नदिई गरिएको कारबाहीले प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन गरेको बताएका हुन्।
केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अधिकारक्षेत्र मिचेर अध्यक्षले एकलौटी रूपमा आफूहरूलाई पदमुक्त गरेको उनीहरूको आरोप छ।
‘हामीलाई पदमुक्त गरिएको सूचना अनलाइन माध्यमबाट मात्र थाहा पायौं। विधानको कुन धारा र व्यवस्थामा टेकेर अध्यक्षले हामीलाई पदमुक्त गर्नुभयो?,’ विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘विधानको अवज्ञा गर्दै चरम स्वेच्छाचारिता प्रदर्शन गरेर हामीलाई पदमुक्त गर्नुपर्ने बाध्यता के आइलाग्यो, अध्यक्षले सार्वजनिक गर्नुपर्छ।’
उनीहरूले पार्टीको चुनावी असफलताको दोष आफूहरूमाथि थोपरेर मूल नेतृत्व उम्किन खोजेको जिकिरसमेत गरेका छन्।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले १६४ सिटमा उम्मेदवारी दिएकोमा एक सिट मात्र जितेको थियो भने १५९ क्षेत्रमा पार्टीका उम्मेदवारको जमानत जफत भएको थियो।
यसै तथ्याङ्कलाई औंल्याउँदै उनीहरूले नेतृत्वको कडा आलोचना गरेका छन्।
‘यो शर्मनाक असफलताको पूर्ण जिम्मेवारी नेतृत्वले हामी दुईमाथि मात्र थोपरेर ध्यान अन्यत्र मोड्दैमा लज्जास्पद हारको नतिजा र तथ्याङ्क परिवर्तन हुने होइन,’ उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘हामीलाई कारबाही गर्दैमा मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त हुन सक्दैन।’
पार्टी अध्यक्षबाटै विधान, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अवमूल्यन भएको भन्दै उनीहरूले दुःख र खेद समेत प्रकट गरेका छन्।
फागुन ३०, २०८२ शनिबार १३:०३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।