२५ सिटमा खुम्चिएपछि एमालेमा भद्रगोल : हारको दोष नेतृत्वलाई, सामाजिक सञ्जालमै छताछुल्ल भयो आक्रोश

२५ सिटमा खुम्चिएपछि एमालेमा भद्रगोल : हारको दोष नेतृत्वलाई, सामाजिक सञ्जालमै छताछुल्ल भयो आक्रोश

काठमाडौं : भर्खरै सम्पन्न आम निर्वाचन २०८२ मा एमालेले अनपेक्षित र शर्मनाक हार व्यहोरेपछि पार्टीभित्रको आन्तरिक विवाद र असन्तुष्टि सतहमा आएको छ।

२०७९ को निर्वाचनमा ७८ सिटसहित दोस्रो ठूलो दल बनेको एमाले यसपटक जम्मा २५ सिटमा खुम्चिन पुगेको छ। त्यतिबेला करिब ३२ लाख समानुपातिक मत ल्याएको पार्टी यसपटक १४ लाख ५५ हजारमा झरेको छ।

अकल्पनीय पराजयसँगै पार्टीभित्र नेतृत्वको आलोचना र नेताहरूबीच सामाजिक सञ्जालमै आरोप-प्रत्यारोप सुरू भएको छ। खासगरी संस्थापन इतर पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ, अराजक अभिव्यक्ति र भदौ २३-२४ को जेनजी आन्दोलनलाई बुझ्न नसक्नु नै हारको मुख्य कारण भएको निष्कर्ष निकालेको छ।

उनीहरूले तत्काल नेतृत्व परिवर्तन गरी पार्टीलाई रिफर्म नगरे एमालेको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिन सामाजिक सञ्जाल र सार्वजनिक मिडियामा दिन थालेका छन्।

योगेश र महासचिव शंकर पोखरेलबीच जुहारी
चुनावका बेला आफूलाई कुनै जिम्मेवारी नदिएको भन्दै उपमहासचिव योगेश भट्टराईले सार्वजनिक रूपमै गुनासो गरेपछि शनिबार महासचिव शंकर पोखरेलले त्यसको खण्डन गरे।

योगेशले भनेका थिए, ‘यसपटक हाम्रो सेन्ट्रल हाइकमाण्ड नै थिएन। म पार्टीको उपमहासचिव हुँ तर बेरोजगार थिएँ। मैले महासचिवलाई टिकट दिनुभएन ठिक छ, अब मलाई केही जिम्मा दिनुस्, कि पार्टी कार्यालयमा बसेर यो काम गर् भन्नुस्, कि कुनै ठाउँमा जा भन्नुस् भनेको थिएँ।’

भट्टराईका अनुसार महासचिव पोखरेलले अध्यक्षसँग सल्लाह गरेर भन्छु भन्दै दाङ हिँडेको र त्यसपछि भेट नै भएन। टिकट नपाएपछि उनी घोषणापत्र जारी भएलगत्तै आफ्नो हिसाबले काम गर्न गृहजिल्ला ताप्लेजुङ गएका थिए।

यता, महासचिव पोखरेलले भने योगेशको भनाइप्रति आश्चर्य प्रकट गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै भनेका छन्, ‘मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको थिएँ। अझ समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। तर, उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो।’

गोकुल बाँस्कोटा र शेरबहादुर तामाङको ‘कोल्ड वार’
चुनावी हारको विषयलाई लिएर एमाले नेताद्वय गोकुल बाँस्कोटा र शेरबहादुर तामाङबीच पनि सामाजिक सञ्जालमा जुहारी चलेको छ।

ओलीको नेतृत्वमा चुनावमा जान नहुने मत राख्दै आएका बाँस्कोटालाई लक्षित गर्दै तामाङले एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, ‘आफैँ नेता भएको सानो क्षेत्र बचाइदिएको भए उहाँलाई स्याबास भन्न सकिन्थ्यो होला। आफ्नो एरिया पनि त बचाउन सक्नुभएन। केपी ओलीको राजीनामा माग्न सुहाउँदैन।’

तामाङले पार्टीको हारमा अध्यक्षको गल्तीभन्दा पनि संगठनले जनतासँग सम्बन्ध बनाउन नसक्नु मुख्य कारण रहेको दाबी गरेका थिए।

यसको कडा जवाफ दिँदै बाँस्कोटाले शनिबार बिहान फेसबुकमा लेखे, ‘मेरो मत मैले राखेबापत शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाइलागेछन्। म तपाईंजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक-पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन।’

स्मरण रहोस्, यसपटक ओलीको इतर पक्षमा भएकै कारण काभ्रे-२ बाट बाँस्कोटालाई टिकट नदिई अशोककुमार ब्याञ्जु श्रेष्ठलाई दिएका थिए, तर श्रेष्ठ त्यहाँ पराजित मात्र भएनन् तेस्रो भए। उता सिन्धुपाल्चोक-२ बाट टिकट पाएका तामाङको अवस्था पनि उस्तै भयो।

नेतृत्वको राजीनामा माग गर्दै युवा नेतृ
पार्टीको शर्मनाक हारपछि नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज संस्थापन इतर पक्षबाट जोडतोडले उठ्न थालेको छ। खरो टिप्पणीकारका रूपमा चिनिने नेतृ उषाकिरण तिमिल्सिनाले अध्यक्ष ओली र महासचिव पोखरेलको राजीनामा मागेकी छन्।

कतिपय नेताले अन्तर्घातका कारण हार भएको दाबी गरिरहँदा उनले त्यसको खण्डन गरेकी छन्। ‘कम्तीमा ४०औं हजार भोट अन्तरको हार अन्तर्घात होइन, जनताले नपत्याएका हुन् भनेर स्वीकार्नुपर्छ। त्यहाँबाट सच्चिने विषय सुरु हुन्छ’, उनले भनेकी छन्।

महासचिव पोखरेलले आफ्नो क्षेत्र (दाङ-२) मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन आचार्यसँग पराजित भएपछि ‘परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन... हार-जित स्वाभाविक हो‘ भन्दै लेखेको स्टाटसमा पनि तिमिल्सिनाले कडा प्रहार गरेकी छन्। 

उनले लेखेकी छन्, ‘आफ्नो जिम्मेवारीबाट राजीनामा लेखेर यो स्टाटस लेख्नुपर्थ्यो कमरेड। राजनीतिमा सबैभन्दा ठूलो कुरा नैतिकता हो। समाजबाट पूरै बेखबर तपाईं र सिंगो कमिटीले आफ्नो पुनर्संरचना/पुनर्गठन गर्नु जरुरी छ। तपाईंको पुस्ता सामान्य असफल मात्रै होइन, यो सर्वनाशको कारण पनि हो।’

फागुन ३०, २०८२ शनिबार ११:५२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।