खार्ग टापुमा अमेरिकी आक्रमण, किन यसलाई इरानको ‘लाइफलाइन’ भनिन्छ?
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको इतिहासमै सबैभन्दा शक्तिशाली हवाई आक्रमणमध्ये एक इरानको खार्ग टापुमा गरिएको बताएका छन्। ट्रम्पका अनुसार, उनको आदेशमा अमेरिकी सेन्ट्रल कमाण्डले खार्ग टापुका सबै सैन्य अखडाहरू पूर्ण रूपमा नष्ट गरिदिएको छ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश लेख्दै ट्रम्पले भनेका छन्, ‘मानवीय र नैतिक कारणले गर्दा मैले यस टापुको तेल संरचनालाई भने निशाना नबनाउने निर्णय गरेको छु।’
अमेरिका, इजरायल र इरानबीच युद्धको अवस्था सिर्जना भएपछि मध्यपूर्वका तेल रिफाइनरी र भण्डारण केन्द्रहरू निरन्तर निशानामा पर्न थालेका छन्। यसअघि इजरायली सेनाले तेहरान र करज सहरका तेल डिपोहरूमा आक्रमण गरेको थियो।
इजरायलले ती डिपोहरूलाई इरानले सैन्य अखडाको रूपमा प्रयोग गरिरहेको दाबी गरेको थियो। इरानले पनि जवाफी कारबाही गर्दै खाडी देशका केही तेल केन्द्रहरूमा आक्रमण गरेको छ।
किन यति धेरै महत्त्वपूर्ण छ खार्ग टापु?
खार्ग टापु इरानको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्र हो। इरानको करिब ९० प्रतिशत कच्चा तेलको निर्यात यही सानो टापुबाट हुने गर्छ।
करिब २० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो कोरल टापु इरानको बुशेहर प्रान्तमा पर्छ। सानो भए पनि तेल निर्यातका हिसाबले यो इरानको मुटु नै मानिन्छ। इरानको दक्षिणका तेल खानीहरूबाट निकालिएको कच्चा तेल समुद्रमुनि बिछ्याइएका पाइपलाइनमार्फत यहीँ ल्याइन्छ।

यहाँ ४० भन्दा बढी कच्चा तेल भण्डारण ट्याङ्कहरू छन्, जसको कुल क्षमता दुई करोड ब्यारेलभन्दा बढी छ। यस टापुका ठूला बन्दरगाहहरूमा ५ लाख टन क्षमतासम्मका विशाल तेल ट्याङ्करहरू रोक्न र तेल भर्न मिल्छ।
साथै, यहाँ एउटा ठूलो पेट्रोकेमिकल कम्पनी पनि छ, जसले तेल निकाल्दा खेर जाने ग्यासलाई मिथेनोल, प्रोपेन र ब्युटेन जस्ता उपयोगी उत्पादनमा बदल्ने काम गर्छ।
कब्जा गर्ने वा ध्वस्त पार्ने रणनीति
खार्ग टापुमाथि आक्रमण भएपछि अमेरिकाले यो टापु नै कब्जा गर्नसक्ने अनुमान पनि गरिन थालेको छ।
इजरायलका विपक्षी नेता यायर ल्यापिडले केही समयअघि सामाजिक सञ्जालमा लेखेका थिए, ‘इजरायलले खार्ग टापुका सबै तेल क्षेत्र र ऊर्जा उद्योग ध्वस्त पार्नुपर्छ। यो यस्तो कदम हुनेछ जसले इरानको अर्थतन्त्रलाई तहसनहस पार्नेछ र त्यहाँको सरकार ढाल्नेछ।’
अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले पनि इरानको तेल अर्थतन्त्रलाई ध्वस्त बनाएर त्यहाँका जनतालाई स्वतन्त्र गराउनुपर्ने धारणा राखेका थिए। पेन्टागनका पूर्व वरिष्ठ सल्लाहकार माइकल रुबिनले पनि इरानलाई आर्थिक रूपमा कमजोर बनाउन खार्ग टापु कब्जा गर्नु सबैभन्दा प्रभावकारी कदम हुने बताएका थिए।

इतिहासमा पनि निशाना बनेको थियो खार्ग
सन् १९८० को दशकमा भएको इरान-इराक युद्धका बेला पनि इरानको ९० प्रतिशत तेल निर्यात खार्गबाटै हुन्थ्यो। त्यसबेला इराकले यो सानो टापुमा करिब २ हजार ८०० पटक हवाई आक्रमण गरेको थियो।
इतिहासमा चर्चित ट्याङ्कर युद्धको ठूलो हिस्सा यही टापुको वरिपरि भएको थियो। अहिले फेरि यो टापु विश्वको ध्यान तान्ने केन्द्रविन्दु बनेको छ।
फागुन ३०, २०८२ शनिबार ०९:५४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।