विश्वका सबै देशलाई रुसी तेल किन्न अमेरिकी अनुमति
एजेन्सी : मध्यपूर्वमा जारी द्वन्द्वका कारण तीव्र रूपमा बढिरहेको पेट्रोलियमको मूल्यलाई नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ऊर्जा रणनीतिमा परिवर्तन गर्दैछन्। सोहीअनुरूप ट्रम्प प्रशासनले रुसबाट तेल आयात गर्ने प्रक्रिया सहज बनाउन अस्थायी अनुमति दिएको छ।
यसअघि भारतलाई पनि रुसबाट तेल खरिद गर्ने अनुमति दिइएको थियो। बजारमा तेलको आपूर्ति सन्तुलित बनाउन र मूल्य वृद्धि रोक्न अमेरिकाले नयाँ कदमहरू चालिरहेको छ।
साथै अमेरिकी बन्दरगाहहरूमा ऊर्जा र कृषि सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न 'जोन एक्ट मापदण्डमा पनि अस्थायी रूपमा छूट दिने तयारी गरिएको छ।
हर्मुज स्ट्रेटमा अवरोध र मूल्य वृद्धि
हाल हर्मुज स्ट्रेटमा तेल र प्राकृतिक ग्यासका ट्याङ्करहरू रोकिएका कारण विश्वव्यापी आपूर्ति शृङ्खलामा गम्भीर अवरोध देखिएको छ।
सामान्य अवस्थामा यस मार्गबाट दैनिक २० मिलियन ब्यारेल तेल ओसारपसार हुने गर्दथ्यो, तर हाल द्वन्द्वका कारण अधिकांश ट्याङ्करहरू यो बाटो प्रयोग गर्न हच्किएका छन्।
यसको प्रत्यक्ष असर विश्व बजारमा परेको छ, जहाँ ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ४१०० सम्म पुगेको छ।
अमेरिकी बजारमा प्रभाव
अमेरिकामा पेट्रोलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। हाल औसत मूल्य प्रति ग्यालन करिब ३.६ डलर पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर मात्र थियो। यो वृद्धि ट्रम्पको पहिलेको 'सस्तो इन्धन' उपलब्ध गराउने नारा विपरीत देखिएको छ।
यद्यपि, राष्ट्रपति ट्रम्पले यस स्थितिलाई राजनीतिक रूपमा फरक ढङ्गले प्रस्तुत गरेका छन्। उनले सामाजिक मिडियामा लेखेका छन्, “संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक हो। तेलको मूल्य बढ्दा हामीलाई ठूलो आम्दानी हुन्छ।”
यसले देशभित्रको राजनीतिक हित र विश्वव्यापी रणनीतिक दबाबबीचको द्वन्द्वलाई स्पष्ट बनाएको छ। उनले उच्च मूल्यलाई अमेरिकी आर्थिक प्रभुत्व र दीर्घकालीन सुरक्षाको पक्षमा फाइदाजनक रहेको दाबी गरे।
आर्थिक चुनौती र सैन्य रणनीति
गोल्डम्यान साच्सका विश्लेषकहरूले भने तेलको उच्च मूल्यले मुद्रास्फीति बढाउने, आर्थिक वृद्धिदर घटाउने र बेरोजगारी बढाउन सक्ने भन्दै चेतावनी दिएका छन्। यसका बाबजुद ट्रम्प प्रशासनको ध्यान अहिले इरानको सैन्य क्षमता कमजोर बनाउनमा केन्द्रित छ।
अमेरिकी सेनाले इरानका आक्रामक क्षमताहरू नष्ट गरेर दीर्घकालीन रूपमा तेल आपूर्ति मार्ग सुरक्षित गर्ने लक्ष्य राखेको छ। हाल अमेरिकाले आपूर्ति व्यवस्थापन, अन्तर्राष्ट्रिय सहयोग र सैन्य रणनीति मार्फत यो ऊर्जा सङ्कटको समाधान खोजिरहेको छ।
फागुन २९, २०८२ शुक्रबार १६:४२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।