प्रत्यक्ष र समानुपातिक मतको अन्तर : रास्वपालाई ५ लाख बढी मत पाउँदा कांग्रेस र एमाले ‘क्रस भोट’को मारमा

प्रत्यक्ष र समानुपातिक मतको अन्तर : रास्वपालाई ५ लाख बढी मत पाउँदा कांग्रेस र एमाले ‘क्रस भोट’को मारमा

काठमाडौं : दलहरूका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत र दलले पाएको समानुपातिक मतको अन्तर हेर्दा मतदाताले ठूला र पुराना भनिएका दलका उम्मेदवारलाई पत्याए पनि दललाई भने कम मत दिएको देखिएको छ।

अर्कोतर्फ, नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने प्रत्यक्षतर्फका उम्मेदवारले भन्दा दलले (समानुपातिकमा) अत्यधिक मत प्राप्त गरेको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत ल्याउनेमा रास्वपा सबैभन्दा अगाडि छ भने नेपाली कांग्रेस, एमाले जस्ता दलले प्रत्यक्षमा भन्दा समानुपातिकमा लाखौं मत गुमाएका छन्।

समानुपातिकमा बढी मत ल्याउने दलहरू
तथ्याङ्क अनुसार रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवारले देशभरिमा ल्याएको कूल मतभन्दा उक्त दलले समानुपातिकतर्फ ५ लाख २ हजार ३०५ मत धेरै ल्याएको छ।

यसले मतदाताले प्रत्यक्षमा अन्य दलका उम्मेदवारलाई मत दिए पनि समानुपातिकमा रास्वपालाई ‘क्रस भोट’ गरेको प्रष्ट देखाउँछ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष उम्मेदवारले पाएको भन्दा समानुपातिकमा १ लाख २३ हजार ४१४ मत बढी प्राप्त गरेको छ।

श्रम संस्कृति पार्टीले ८१ हजार ९५४ र राष्ट्रिय परिवर्तन पार्टीले ५६ हजार ५१८ मत प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी ल्याएका छन्।

समानुपातिकमा कम मत ल्याउने दलहरू
देशका प्रमुख ठूला र पुराना भनिएका दलहरूले भने प्रत्यक्षतर्फ आफ्ना उम्मेदवारले ल्याएको जति मत पनि दलको पक्षमा सुरक्षित गर्न सकेका छैनन्।

सबैभन्दा धेरै घाटा नेपाली कांग्रेसलाई भएको छ। नेपाली कांग्रेसका उम्मेदवारले देशभरिमा पाएको मतभन्दा उक्त पार्टीले समानुपातिकमा २ लाख ४९ हजार ४६७ मत थोरै पाएको छ।

यस्तै, एमालेले प्रत्यक्षतर्फको भन्दा समानुपातिकमा १ लाख ६७ हजार २७४ मत कम पाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले १ लाख ६४ हजार ४३९ मत कम प्राप्त गरेको छ।

जनता समाजवादी पार्टीलाई पनि प्रत्यक्षमा भन्दा समानुपातिकमा ११ हजार १८ मतको घाटा लागेको छ।

फागुन २९, २०८२ शुक्रबार ०७:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।