समानुपातिक सिट बाँडफाँट : संसदमा ६ दलको प्रवेश, कुन दलको भागमा कति सिट ?
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम र दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या बिहीबार सार्वजनिक गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सदर मतको तीन प्रतिशत (थ्रेसहोल्ड) पार गर्ने ६ वटा राजनीतिक दलले मात्र सिट प्राप्त गरेका छन्। आयोगको निर्णयअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वाधिक ५७ सिट प्राप्त गरेको छ।
त्यसैगरी, नेपाली कांग्रेसले २० सिट र नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान ४/४ सिट प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका थिए। जसमध्ये प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ एक करोड ११ लाख ६८ हजार ३२ मत खसेकोमा एक करोड पाँच लाख ५९ हजार १७ (९४.५५ प्रतिशत) मत सदर भएको छ। त्यस्तै, समानुपातिकतर्फ कुल एक करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा एक करोड आठ लाख ३५ हजार २५ (९६.०५ प्रतिशत) मत सदर भएको छ।
सिट बाँडफाँटको टुङ्गो लागेसँगै आयोगले बिहीबार नै सम्बन्धित दलहरूलाई निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न पत्राचार गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(४), प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम दलहरूले अबको तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्नुपर्नेछ।
फागुन २८, २०८२ बिहीबार २१:४४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।