भारतमा रेस्टुरेन्ट व्यवसाय संकटमा : ग्यास अभावकै कारण कतिले मेनु घटाए त कतिले सुरु गरे दाउरामै पकाउन

भारतमा रेस्टुरेन्ट व्यवसाय संकटमा : ग्यास अभावकै कारण कतिले मेनु घटाए त कतिले सुरु गरे दाउरामै पकाउन

एजेन्सी : मध्यपूर्वमा जारी युद्धका कारण तेल र ग्यास आपूर्ति  ठप्प भएपछि भारतको रेस्टुरेन्ट क्षेत्रमा ऊर्जा संकट देखिएको छ। 

इरान र इजरायलबीचको बढ्दो तनावका कारण तेल र ग्यासको आपूर्ति हुने मार्ग (स्ट्रेट अफ होर्मुज) अवरुद्ध भएपछि भारतमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको हो।

ग्यास अभावकै कारण भारतका कयौं ​रेस्टुरेन्टहरू मेनु घटाउने, सेवा सीमित गर्ने र वैकल्पिक इन्धन खोज्ने अवस्थामा पुगेका छन्।

दक्षिण भारतको प्रविधि केन्द्र बेङ्गलुरुस्थित म्याडको रेस्टुरेन्टले ग्यास बचत गर्न लोकप्रिय परिकारहरू हटाउने निर्णय गर्नुपरेको जनाएको छ। रेस्टुरेन्टका निर्देशक सन्तोष अब्राहमका अनुसार ग्यास बचत गर्न खाजा सेवा पनि अस्थायी रूपमा बन्द गरिएको छ। उनले सम्भावित सङ्कटको सङ्केत पहिले नै देखिए पनि यसको असर यति चाँडै देखिने अपेक्षा नगरेको बताए।

भारत विश्वको दोस्रो ठूलो तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) आयातकर्ता हो, जसको करिब ९० प्रतिशत आपूर्ति स्ट्रेट अफ होर्मुज हुँदै आउँछ। हाल युद्धका कारण यो मार्गको ढुवानी ठप्प भएको छ। 

आयात प्रभावित भएपछि भारत सरकारले घरपरिवार र अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिँदै ग्यास वितरणमा कडाइ गरेकाे छ। यसले रेस्टुरेन्ट, उद्योग र विद्युत् उत्पादन क्षेत्रमा दबाब बढाएको छ।

बेङ्गलुरुको ‘गुरिल्ला डाइनर’ नामक बर्गर रेस्टुरेन्टका सुस शेफ ध्रुव थपलियालले अहिले व्यवसाय टिकाइराख्न नै सङ्घर्ष भइरहेको बताए। उनले रेस्टुरेन्टमा जम्मा साढे दुई सिलिन्डर ग्यास मात्र बाँकी भएकाले ग्रिल चलाउँदा डेढ दिन मात्र पुग्ने र फ्रायर मात्रै चलाए चार दिनसम्म टिक्न सक्ने बताए।

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई आत्तिनु आवश्यक नरहेको भन्दै ग्यास आपूर्ति बढाउने विषयमा अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।

तर उद्योग प्रतिनिधिहरूले सङ्कट थप गम्भीर हुन सक्ने चेतावनी दिएका छन्। आपूर्ति घटेसँगै बजारमा ग्यासको कालोबजारी सुरु भएको छ। नेसनल रेस्टुरेन्ट एसोसिएसन अफ इन्डियाका बेङ्गलुरु शाखा प्रमुख अनन्त नारायणका अनुसार ग्यास सिलिन्डरको मूल्य सामान्यभन्दा दोब्बर पुगेकोले सरकारले कडा कदम चाल्नुपर्ने माग गरे।

रेस्टुरेन्ट उद्योगले ग्यास बचत गर्न विभिन्न उपाय अपनाउन थालेको छन्। लामो समय उमाल्नुपर्ने, गहिरो तल्नुपर्ने वा ढिलो पकाइने परिकार घटाउन र पकाउने समय कम गर्न सामग्री पहिले नै भिजाएर तयार पार्ने सुझाव समेत दिएका छन्।

मुम्बईको चिनियाँ रेस्टुरेन्ट जिप्सीले बाफमा पकाइने डिम सम परिकार मेनुबाट हटाएको छ। रेस्टुरेन्ट सञ्चालक अदिति लिमये कामतका अनुसार एक भाग बनाउन आठदेखि १० मिनेटसम्म ग्यास निरन्तर चलाउनुपर्ने भएकाले त्यस्ता परिकार हटाइएको हो।

भारतका लाखौँ रेस्टुरेन्टहरू खाना पकाउन ग्यास सिलिन्डरमा निर्भर छन्। सरकारले प्रदूषण नियन्त्रणका लागि कोइला र दाउरा प्रयोगमा कडाइ गरे पनि ग्यास नभएपछि व्यवसायीहरू पुराना इन्धनका स्रोततर्फ फर्कन थालेका छन्। 

बेङ्गलुरुको ‘द पिज्जा बेकरी’का सञ्चालक गुरुदत्तका अनुसार पहिले हप्तामा करिब ३०० किलो दाउरा प्रयोग हुन्थ्यो भने अहिले ४५० देखि ६०० किलोसम्म प्रयोग भइरहेको छ। ग्यास बर्नर बन्द गरेर ओभन तताउन दाउराको प्रयोग बढाइएको उनले बताए।

पर्यटक गन्तव्य गोवास्थित मोन पेटिट फ्रेरे क्याफेका मालिक डेनियल रोड्रिग्सले सरकारको हस्तक्षेप आवश्यक रहेको बताए। उनले ग्यास अभावका कारण आमलेट र प्यानकेक जस्ता साधारण परिकार तयार पार्न पनि कठिन हुन थालेको बताए।

यस सङ्कटको प्रभाव छिमेकी श्रीलङ्कामा पनि देखिएको छ। त्यहाँ इन्धन मूल्य बढेको एक दिनपछि एलपिजीको मूल्य आठ प्रतिशतले बढाइएको छ।

श्रीलङ्काको क्यान्टिन मालिक सङ्घका प्रवक्ता असेला सम्पतका अनुसार ग्यास अभावको डरले धेरै व्यवसायीले बिजुली स्टोभ र राइस कुकर खरिद गर्न थालेका छन्। उनले अहिलेका लागि अतिरिक्त खर्च आफैँले व्यहोर्नु परेको बताउँदै अन्यथा ग्राहक घट्ने जोखिम रहने उल्लेख गरे।

फागुन २८, २०८२ बिहीबार १७:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।