अमेरिकी अनुसन्धानको घेरामा भारत र चीन, थप ट्यारिफ लगाउन सक्ने
एजेन्सी : अमेरिकाले भारत र चीनसहित आफ्ना प्रमुख व्यापारिक साझेदार देशहरूले अपनाएको व्यापारिक नीति र अभ्यासबारे नयाँ अनुसन्धान सुरु गरेको छ।
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विगतमा लगाइएका केही वैदेशिक व्यापार महसुल (ट्यारिफ)लाई खारेज गरिदिएको केही समयपछि प्रशासनले यस्तो कदम चालेको हो।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बुधबार 'सेक्सन ३०१' अन्तर्गत चीन, युरोपेली संघ, भारत, जापान, दक्षिण कोरिया र मेक्सिको जस्ता मुलुकहरूका 'अनुचित व्यापारिक अभ्यास' (अनफेयर ट्रेड प्राक्टिस) बारे जाँच गरिने घोषणा गरे।
अनुसन्धानले अमेरिकी व्यापारिक स्वार्थमा बाधा पुऱ्याएको ठहर गरेमा अमेरिकालाई ती देशबाट आयात हुने सामानमा नयाँ आयात कर (ट्यारिफ) लगाउने कानुनी अधिकार प्रदान गर्नेछ।
व्यापार प्रतिनिधि ग्रियरका अनुसार यो अनुसन्धान आगामी जुलाई अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। राष्ट्रपति ट्रम्पले यसअघि लगाएका अस्थायी महसुलहरूको अवधि पनि जुलाईमै समाप्त हुँदैछ।
यस अनुसन्धान प्रक्रियामा भियतनाम, थाइल्याण्ड, मलेसिया, कम्बोडिया, सिंगापुर, इन्डोनेसिया, बंगलादेश, स्विट्जरल्याण्ड र नर्वेलाई पनि समेटिएको छ। यद्यपि, अमेरिकाको दोस्रो ठूलो व्यापारिक साझेदार क्यानडालाई भने यो अनुसन्धानको दायराबाट बाहिर राखिएको छ।
फागुन २८, २०८२ बिहीबार १५:३६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।