पश्चिम एसिया युद्धअघि ६५ डलर रहेको कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्यो
एजेन्सी : इरानले महत्त्वपूर्ण समुद्री मार्गमा धम्की जारी राखेपछि एसियाली बजारमा बिहीबार कच्चा तेलको मूल्य आकाशिएको छ।
विश्व बजारमा तेलको मूल्य निर्धारण गर्ने प्रमुख मापदण्डमध्ये एक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुगेको हो।
तेलको मूल्यमा एकैदिन लगभग ९ प्रतिशतको वृद्धि देखिएको छ। यद्यपि पछिल्लो समय घटेर ९५ डलरमा आइपुगेको छ।
अमेरिका र बेलायत लगायतका शक्तिशाली देशहरूले आफ्नो आपत्कालीन तेल भण्डारबाट किर्तिमानी परिमाणमा तेल निकाल्ने घोषणा गरे पनि मूल्य नियन्त्रणमा आउन सकेको छैन।
बजारमा थप तेल आपूर्ति गर्ने प्रयासका बाबजुद मूल्य बढ्नुले विश्वव्यापी ऊर्जा संकटको संकेत गरेको छ।
यसैबीच, इरानले विश्वकै एक प्रमुख समुद्री मार्ग, होर्मुज जलडमरूमध्यबाट ओहोरदोहोर गर्ने पानीजहाजहरूलाई लक्षित गर्दै आफ्नो धम्की जारी राखेको छ।
यो समुद्री मार्ग विश्वको लगभग २० प्रतिशत तेल आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। इरानको यही धम्कीका कारण आपूर्ति प्रणालीमा अवरोध आउन सक्ने डरले लगानीकर्ताहरू त्रसित हुँदा तेलको मूल्यमा चाप परेको हो।
फागुन २८, २०८२ बिहीबार १३:४४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।