लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ महिला सांसद ‘शून्य’, अधिकांश उम्मेदवारको जमानत जफत
बुटवल : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार निर्वाचित हुन सकेनन्।
प्रदेशका २६ वटै निर्वाचन क्षेत्र पुरुष सांसदले जितेपछि संसद्मा यस प्रदेशको प्रत्यक्ष महिला प्रतिनिधित्व शून्य भएको हो।
ठूला भनिएका राजनीतिक दलहरूले महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गर्नु र उठाएका उम्मेदवारले पनि सम्मानजनक मत प्राप्त गर्न नसक्नु यसको प्रमुख कारण देखिएको छ।
दलहरूको बेवास्ता, महिला उम्मेदवारी १० प्रतिशतभन्दा कम
लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा विभिन्न दल तथा स्वतन्त्र गरी कुल ५९९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
तर, तीमध्ये महिला उम्मेदवारको संख्या जम्मा ५६ जना (९.३४ प्रतिशत) मात्रै थियो भने बाँकी ५४३ जना पुरुष थिए। यसले राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रियामै महिलालाई उपेक्षा गरेको स्पष्ट पार्छ।
अझ कहालीलाग्दो तथ्यांक त के छ भने, चुनावी प्रतिस्पर्धामा उत्रिएका अधिकांश महिला उम्मेदवारले उल्लेख्य मत ल्याउन सकेनन् र धेरैको जमानतसमेत जोगिन सकेन।
‘ठूला दल’बाट जम्मा ४ महिला, सबै पराजित
प्रदेशमा बलियो उपस्थिति जनाएका प्रमुख दलहरूले महिला उम्मेदवार उठाउन निकै कन्जुस्याइँ गरे। नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले एक-एक जना मात्रै महिलालाई प्रत्यक्षतर्फको टिकट दिएका थिए।
नेपाली कांग्रेसले रुकुमपूर्वबाट कुसुमदेवी थापामगरलाई उम्मेदवार बनायो। तर, नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० हजार २४० मतसहित चुनाव जितेको यस क्षेत्रमा थापामगर ३ हजार ८१ मत ल्याएर तेस्रो स्थानमा सीमित भइन्।
एमालेले बर्दिया क्षेत्र नं. २ बाट विमला विकलाई मैदानमा उतार्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का श्रीधर पोखरेल २९ हजार ६७८ मतसहित विजयी हुँदा विकले १० हजार ७७२ मत प्राप्त गरी चौथो स्थानमा चित्त बुझाइन्।
नेकपाले नवलपरासी पश्चिम-१ बाट सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो। यहाँ रास्वपाका विक्रम खनाल ४५ हजार २४१ मतले विजयी हुँदा बुढाथोकीले जम्मा १ हजार ५६ मत पाइन् र छैटौं स्थानमा रहिन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीले बाँके-१ बाट कृष्णा केसी ‘नमुना’लाई टिकट दियो। यहाँ रास्वपाका सुरेशकुमार चौधरीले ३२ हजार ७९२ मत ल्याएर जित्दा केसीले १ हजार २४० मत मात्रै प्राप्त गरिन् र छैटौं स्थानमा रहिन्।
प्रदेशमा २६ मध्ये २१ सिट जितेर ‘क्लिन स्वीप’गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशमा एक जना पनि महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको थिएन। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-२ बाट कार्भिका थापालाई उम्मेदवार बनाए पनि उनले मनोनयन फिर्ता लिएपछि राप्रपाबाट पनि महिला उम्मेदवार शून्य भयो।
साना दलका महिला उम्मेदवारको अवस्था झनै दयनीय
अन्य साना दलबाट उम्मेदवार बनेका महिलाहरूको प्रदर्शन झनै निराशाजनक रह्यो। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले क्रमशः ८ र ४ जना महिलालाई उम्मेदवार बनाए पनि उनीहरूले सय मत कटाउन पनि सकेनन्।
नेमकिपाकी कृष्णशोभा मुस्याख्च (पाल्पा-२) ले १२ मत, पवित्रा शाही (बर्दिया-१) ले ६१ मत, रोशिना व्यन्जु (रुपन्देही-२) ले २२ मत र रञ्जना सुवाल (नवलपरासी पश्चिम-२) ले २० मत मात्र पाइन्। राष्ट्रिय जनमोर्चाकी कमला जिसी (दाङ-३) ले १८४ मत र पार्वता पौड्याल (नवलपरासी पश्चिम-२) ले १९३ मत ल्याउनु नै सबैभन्दा राम्रो प्रदर्शन रह्यो।
अन्य दलहरू जस्तै जनता समाजवादी पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टीका महिला उम्मेदवारहरूले पनि दोहोरो अंकको मतमै चित्त बुझाउनुपर्यो। लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये रोल्पामा भने कुनै पनि दल वा स्वतन्त्रबाट एक जना पनि महिला उम्मेदवार थिएनन्।
अधिवक्ता तथा अधिकारकर्मी इन्दिरा आचार्यका अनुसार दलहरूले समावेशी प्रतिनिधित्वको विषयलाई नीतिगत रूपमा मात्रै सीमित राख्दा र व्यावहारिक कार्यान्वयनमा ध्यान नदिँदा प्रत्यक्ष निर्वाचनमा महिलाको उपस्थिति कमजोर बन्दै गएको हो।
‘पुराना दलहरू मात्र होइन, नयाँ राजनीतिक शक्तिहरूमा समेत महिला सहभागिताको पक्ष कमजोर देखिनु चिन्ताजनक छ’, उनले भनिन्।
फागुन २८, २०८२ बिहीबार १२:३५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।