युद्ध जितिसकेको ट्रम्पको दाबी, इरानले शान्तिका लागि राख्यो तीन शर्त
एजेन्सी : अमेरिका-इजरायल र इरानबीच सुरु भएको भीषण युद्ध आज १३औं दिनमा प्रवेश गरेको छ।
युद्धले मध्यपूर्वलाई रणभूमिमा परिणत गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले यो युद्ध जितिसकेको दाबी गरेका छन्।
यद्यपि, दुवै पक्षबाट आक्रमण र प्रत्याक्रमण जारी छ भने युद्धको बाछिटाले छिमेकी राष्ट्रहरूलाई समेत प्रभावित पार्न थालिसकेको छ।
केंटकी राज्यमा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धमा अमेरिका अगाडि रहेको बताएका छन्।
‘जितको घोषणा हतारमा गर्नु हुँदैन, तर युद्ध सुरू भएको पहिलो घण्टामै अमेरिका अगाडि छ भन्ने स्पष्ट भइसकेको थियो’, ट्रम्पले भने।
उनले अमेरिकी सेनाले इरानको सैन्य क्षमतालाई नराम्ररी ध्वस्त पारिदिएको दाबी गर्दै भविष्यमा फेरि यस्तो लडाइँको अवस्था नआओस् भन्नका लागि ‘मिसन पूरा नभएसम्म’ अमेरिका पछि नहट्ने स्पष्ट पारेका छन्।
यद्यपि, अमेरिकी प्रशासनसँग युद्ध अन्त्य गर्ने कुनै स्पष्ट योजना नभएको विश्लेषकहरूले औंल्याएका छन्।
आक्रमणअघि फेब्रुअरी १८ मा ऊर्जामन्त्री क्रिस राइट लगायतका सल्लाहकारहरूले युद्धले विश्वको २० प्रतिशत तेल आपूर्ति हुने समुद्री बाटो र तेल बजारमा खासै असर नपर्ने भन्दै स्थितिलाई सामान्यीकरण गरेका थिए।
युद्ध अमेरिकाका लागि निकै महँगो साबित भइरहेको छ।
अमेरिकी रक्षा विभाग (पेन्टागन)ले संसद्को एक गोप्य बैठकमा दिएको जानकारी अनुसार युद्ध सुरु भएको पहिलो ६ दिनमै अमेरिकाले करिब ११.३ अर्ब डलर खर्च गरिसकेको छ। यसमध्ये करिब ५ अर्ब डलर त पहिलो सप्ताहन्तमा हतियार र गोलाबारुदमा मात्रै खर्च भएको थियो।
इरानका ३ शर्त, ज्यान गुमाए १६० बालबालिकाले
यता, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्ध अन्त्यका लागि अमेरिका र अन्तर्राष्ट्रिय समुदायसामु ३ वटा कडा शर्त अघि सारेका छन्।
उनका अनुसार युद्ध रोक्न इरानको कानुनी अधिकारलाई मान्यता दिनुपर्ने, युद्धबाट भएको क्षतिको पूर्ण भरपाई हुनुपर्ने र भविष्यमा इरानमाथि फेरि आक्रमण नहुने सुनिश्चित अन्तर्राष्ट्रिय ग्यारेन्टी हुनुपर्नेछ।
तर, युद्धले इरानमा डरलाग्दो मानवीय क्षति निम्त्याएको छ। फेब्रुअरी २८ मा इरानको मिनाब सहरस्थित एक प्राथमिक विद्यालयमा अमेरिकी ‘टोमाहक क्रुज मिसाइल’ खस्दा १६० भन्दा बढी बालबालिकासहित कम्तीमा १७५ जनाको मृत्यु भएको छ।
अमेरिकी सेनाको प्रारम्भिक अनुसन्धानले यो भयानक गल्ती ‘पुरानो टार्गेटिङ डाटा’का कारण भएको स्वीकार गरेको छ। नजिकै रहेको पुरानो नौसैनिक अखडालाई निशाना बनाउने क्रममा गलत सूचनाका कारण स्कुलमाथि मिसाइल खसेको बताइएको छ।
सर्वोच्च नेता गुमाए पनि टिकिरहेको इरानको रणनीति
अल जजिराको रिपोर्ट अनुसार युद्धको पहिलो दिनमै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र करिब ५० शीर्ष अधिकारी मारिएका थिए।
यति ठूलो क्षति हुँदा पनि इरानले युद्ध लम्ब्याउने रणनीति बनाएको छ। इरानले आफ्नो सैन्य कमाण्डलाई एउटै केन्द्रमा नराखी ७ वटा साना युनिटमा विकेन्द्रीकरण गरेको छ भने हरेक महत्त्वपूर्ण सैन्य पदका लागि पहिल्यै ४ जना सम्भावित उत्तराधिकारी तोकेको छ।
आक्रमणअघि नै चिनियाँ एपमा लिक भएको थियो सूचना
फेब्रुअरी २८ मा पहिलो मिसाइल प्रहार हुनुअघि नै चिनियाँ सामाजिक सञ्जालमा अमेरिकी आक्रमणको पूर्वतयारी छताछुल्ल भएको खुलासा भएको छ।
चिनियाँ इन्टरनेटमा अमेरिकी लडाकु विमान, भूमध्यसागरमा तैनाथ विमानवाहक पोत र क्षेप्यास्त्र रक्षा प्रणालीका सटीक स्याटेलाइट तस्बिरहरू भाइरल भएका थिए। अंग्रेजीको साटो चिनियाँ भाषामा लेखिएका ती तस्बिरहरूमा सैनिक तैनाथीको लोकेसनसमेत खुलाइएको थियो।
इराक र बहराइनमा त्रास
युद्धको असर इरान र इजरायलमा मात्र सीमित छैन। विस्फोटक पदार्थ भरिएका डुङ्गाहरूले दुईवटा कच्चा तेल बोकेका ट्याङ्करमाथि आक्रमण गरेपछि इराकले आफ्नो ‘उम्म कसर’ बन्दरगाहबाट हुने तेल टर्मिनलको सम्पूर्ण काम अस्थायी रूपमा बन्द गरेको छ।
त्यसैगरी, बहराइनको गृह मन्त्रालयले हिद्द, अराद, कलाली र समाहीज क्षेत्रका बासिन्दालाई घरभित्रै बस्न र झ्यालढोका बन्द राख्न अपिल गरेको छ। युद्धका कारण लागेको आगोबाट निस्किएको विषाक्त धुवाँबाट नागरिकलाई बचाउन यस्तो चेतावनी जारी गरिएको हो।
फागुन २८, २०८२ बिहीबार ०९:४४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।