जुम्लाको इतिहास नै बदलेर संसद् छिर्दै ज्ञानेन्द्र शाही, प्रत्यक्षतर्फ एक्लैले जोगाए पार्टीको ‘बिउ’
काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही जुम्लाबाट प्रत्यक्षतर्फ विजयी भएका छन्। यस जितसँगै उनले जुम्लाको राजनीतिक इतिहासमै नयाँ रेकर्ड कायम गरेका छन्।
यसअघि कुनै पनि सांसदलाई दोहोर्याएर नचुन्ने जुम्लाबासीले यसपटक भने शाहीलाई दोस्रो पटक संसद् भवन पठाएका हुन्। देशभर प्रत्यक्षतर्फका १६५ सिटमध्ये चुनाव जित्ने उनी राप्रपाका एक्ला उम्मेदवार बने।
यति मात्र होइन, उनी अहिलेको निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार जित्ने एकमात्र उम्मेदवार हुन्। प्रत्यक्षतर्फ राप्रपा देशैभरी पत्तासाफ हुँदा जुम्लामा भने बिउ जोगाएको हो। यद्यपि समानुपातिकतर्फ भने उसले तीन लाख ३० हजार मत कटाउँदा पाँच सिट सुरक्षित गरेको छ।
अन्तिम मतपरिणाम अनुसार शाहीले १४ हजार ८ सय १६ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गढ मानिने जुम्लामा उनले नेकपाकै बलिया उम्मेदवार नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतको अन्तरले पराजित गरेका हुन्।
भण्डारीले ११ हजार ६ सय ३५ मत मात्र प्राप्त गरे। पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नै पराजय व्यहोरेको कठिन परिस्थितिमा शाही एक्लैले जुम्लाबाट राप्रपाको साख जोगाएका छन्।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि शाहीले कांग्रेस-माओवादीको बलियो गठबन्धनलाई फराकिलो मतान्तरले हराएका थिए। त्यतिबेला २२ हजार ८ सय १९ मत ल्याएर विजयी हुँदा गठबन्धनकी उम्मेदवार गोमा गौतम कुँवर झण्डै ११ हजार मतले पछि परेकी थिइन्।
यसपटक जुम्लामा अन्य दलको अवस्था भने निकै दयनीय रह्यो। देशैभर बलियो उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतले जम्मा ४२१ मत मात्र ल्याइन्।
त्यस्तै, नेमकिपाका विर्षबहादुर रावत (४००), प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२), माओवादीका बिर्ख शाही (७१) र नेपाल जनता पार्टीका रनील विक्रम शाही (४३) ले कुल सदर मतको दस प्रतिशत पनि कटाउन नसक्दा कानुन बमोजिम धरौटी रकम गुमाएका छन्।
को हुन् ज्ञानेन्द्र शाही?
३४ वर्षीय शाहीको राजनीतिक यात्रा निकै रोचक छ। जुम्लाको सिञ्जा गाउँपालिका-३, पिङ्गी गाउँको सामान्य परिवारमा जन्मिएका उनले २०६२ सालमा सिञ्जाकै कैलाश माविबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्ने सपना बोकेर भारत पुगेका उनी पढाइ बीचमै छाडेर स्वदेश फर्किए र भ्रष्टाचारविरोधी अभियानमा होमिए।
तत्कालीन विद्रोही माओवादीको उद्गमस्थल कर्णालीबाटै उदाएका उनले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको संयोजक बनेर ठूला नेताहरूको भ्रष्टाचारको पर्दाफास गर्न थाले। यही खरो स्वभावका कारण उनी राजनीतिक दलहरूको तारो बने। अभियानकै क्रममा उनले पटक-पटक साङ्घातिक हमला र कुटपिटको सामना गर्नुपर्यो, तर उनी कहिल्यै रोकिएनन्।
निरन्तरको सडक संघर्षपछि उनी हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको राप्रपामा प्रवेश गरे। ३० वर्षमै पहिलो पटक संसद् प्रवेश गरेका शाहीले संसद्मा आफूलाई सधैँ खरो र प्रष्ट वक्ताको रूपमा उभ्याए। उनले राष्ट्रिय भ्रष्टाचारका मुद्दादेखि कर्णालीका स्थानीय समस्या र जुम्लाको स्याउलाई काठमाडौंमा ब्रान्डिङ गर्नेसम्मका विषयलाई प्राथमिकताका साथ उठाए।
राप्रपाको प्रतिनिधिसभा प्रमुख सचेतक हुँदै हाल पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका शाहीको सडकदेखि सदनसम्मको निर्भिक आवाज र जनपक्षीय काम नै यसपटक जुम्लावासीको मन जित्ने प्रमुख आधार बन्यो। निर्वाचनपछि उनी नै संसदीय दलको नेता बन्ने दौडमा छन्।
फागुन २८, २०८२ बिहीबार ०९:०९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।