आईपीएल २०२६ : साबिक विजेता आरसीबी र हैदरावादबीच उद्घाटन खेल हुने, पहिलो चरणको खेलतालिका सार्वजनिक

आईपीएल २०२६ : साबिक विजेता आरसीबी र हैदरावादबीच उद्घाटन खेल हुने, पहिलो चरणको खेलतालिका सार्वजनिक

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उद्घाटन खेलमा साबिक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र सनराइजर्स हैदरावाद (एसआरएच) भिड्ने भएका छन्।

यो सिजनको पहिलो खेल मार्च २८ तारिखमा बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुनेछ। गत जुन महिनामा आरसीबीले आईपीएलको उपाधि जित्दा खुसियाली मनाउने क्रममा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको थियो।

उक्त दुखद घटनापछि यस रङ्गशालामा आईपीएलका खेलहरू हुने वा नहुने भन्ने अनिश्चितता थियो। तर, हालै कर्नाटक सरकारले यहाँ खेल आयोजना गर्न अनुमति दिएको छ।

यद्यपि, यस रङ्गशालामा खेल खेलाउन सरकारले गठन गरेको विशेषज्ञ समितिको अन्तिम स्वीकृति भने लिनुपर्नेछ।

आईपीएलले जारी गरेको विज्ञप्तिअनुसार आगामी मार्च १३ मा समितिको बैठक बस्नेछ र रङ्गशालाको सुरक्षा तथा व्यवस्थापनको अवस्था जाँच्न नमुना परीक्षण गरिनेछ। त्यसपछि मात्रै अन्तिम निर्णय हुनेछ।

त्यस्तै, प्रतियोगिताको दोस्रो खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच मुम्बईको वानखेडे स्टेडियममा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सुरु भएको पहिलो सप्ताहन्तमा दिनमा एउटा मात्र खेल हुनेछ।

चुनावका कारण दुई चरणमा खेलतालिका
भारतका पश्चिम बङ्गाल, तमिलनाडु र असम लगायतका राज्यहरूमा विधानसभा चुनाव हुन लागेकाले आईपीएल व्यवस्थापनले दुई चरणमा खेलतालिका सार्वजनिक गर्ने निर्णय गरेको छ।

बुधबार पहिलो चरणअन्तर्गत सुरुवाती २० वटा खेलको तालिका मात्र सार्वजनिक गरिएको छ। पहिलो चरणमा सबै १० टोलीले ४-४ वटा खेल खेल्नेछन्।

यो चरणमा अप्रिल ४-५ र अप्रिल ११-१२ को सप्ताहन्तमा भने दिनमा दुईवटा खेल खेलाइनेछ।

यस सिजनमा केही टोलीले आफ्नो मुख्य घरेलु मैदानबाहेक अन्य सहरमा पनि खेल खेल्दै छन्। राजस्थान रोयल्सले पहिलो चरणका ३ खेल गुवाहाटीमा खेल्नेछ भने बाँकी ४ घरेलु खेल जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा खेल्नेछ।

आरसीबीले बैंगलुरुबाहेक आफ्ना दुई खेल रायपुरमा खेल्नेछ भने पञ्जाब किंग्सले आफ्ना तीन खेल धर्मशालामा खेल्नेछ।

आईपीएलको इतिहासमा आरसीबी र हैदरावादबीच उद्घाटन खेल हुन लागेको यो दोस्रो पटक हो। यसअघि सन् २०१७ मा पनि यी दुई टोली सिजनको पहिलो खेलमा भिडेका थिए।

सन् २००८ देखि सुरू भएको आईपीएलमा भारतमा आम निर्वाचन वा राज्यहरूको चुनाव परेको बेला यसरी नै दुई भागमा बाँडेर खेलतालिका सार्वजनिक गर्ने गरिएको छ।

फागुन २७, २०८२ बुधबार २२:१६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।