१६ भोट ल्याएका उम्मेदवारको खर्च विवरण : साँझमा थकाइ मार्न ४५ हजारको ८८४८ भोड्का र लोकल रक्सी !
धनगढी : निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाउने खर्च विवरण प्रायः औपचारिक र वास्तविकताभन्दा निकै कम हुन्छ।
तर, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले भने अत्यन्तै रोचक खर्च विवरण पेश गरेका छन्।
उनले चुनाव प्रचारका क्रममा कार्यकर्ता र स्वयम्सेवकको ‘थकाइ मेट्न’ भन्दै भोड्का र लोकल रक्सीमा भएको खर्चसमेत निर्वाचन आयोगमा आधिकारिक रूपमै बुझाएका छन्।
‘क्यामेरा’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका दिपक रावलले जिल्ला निर्वाचन कार्यालय कैलालीमा पेश गरेको अनुसूची-४१ बमोजिमको खर्च विवरणमा ‘८८४८ भोड्का र लोकल रक्सी’ पिएको हिसाब स्पष्ट खुलाएका हुन्।
रावलले आफ्नै हस्तलिपिमा बुझाएको विवरणको सि.नं. ७ मा खर्चको शीर्षक ‘स्वयम सेवक/8848/Vodka/Local’ राखिएको छ।
झनै रोचक कुरा त के छ भने, उक्त रक्सी खानुको उद्देश्यमा उनले ‘साँझपख थकाइ मेटान (१५ दिन)’ भनेर लेखेका छन्। १५ दिनसम्म थकाइ मार्न रक्सी पिएको खर्च मात्रै उनले ४५ हजार ५ सय रुपैयाँ देखाएका छन्।
२ लाख ३६ हजार खर्च, जम्मा १६ भोट !
रक्सी-सत्कार र प्रचारप्रसारमा यति धेरै खर्च गरे तापनि निर्वाचनको नतिजा भने रावलका लागि निकै निराशाजनक रह्यो।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालसहितका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गरेका रावलले जम्मा १६ भोट मात्र प्राप्त गरे।
१६ भोट ल्याएका रावलको कुल चुनावी खर्च भने २ लाख ३६ हजार ५ सय रुपैयाँ पुगेको छ। यसको अर्थ उनले एउटा भोट प्राप्त गर्न औसतमा झन्डै १५ हजार रुपैयाँ खर्च गरेको देखिन्छ।
यस्तो छ रावलको अन्य खर्चको हिसाब:
रावलले आयोगमा पेश गरेको २ लाख ३६ हजार ५ सय रुपैयाँको कुल खर्च विवरणमा अन्य सामान्य खर्चहरू पनि समावेश छन्:
मनोनयन दर्ता दस्तुर : १०,०००/-
सवारी साधन र इन्धन : ५५,०००/-
२६ वडा घरदैलो (खाना+खाजा) : ४५,५००/-
झण्डा, ब्याच, ब्यानर, स्टिकर छपाइ : ३५,०००/-
विविध मिडिया खर्च : २५,५००/-
पानी, चिया, स्टेसनरी : २०,०००/-
रक्सी (थकाइ मेटान- १५ दिन) : ४५,५००/-
निर्वाचन खर्चलाई पारदर्शी बनाउनुपर्छ भन्ने बहस चलिरहेका बेला दिपक रावलले ‘थकाइ मेटान’ भन्दै ब्रान्ड नै तोकेर मदिराको खर्च विवरण बुझाएपछि यो पत्र यतिबेला सामाजिक सञ्जालमा भाइरल हुँदै हाँसो र चर्चाको विषय बनेको छ।
फागुन २७, २०८२ बुधबार २१:५१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।