ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन आयल निगमको आग्रह
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास (एलपी ग्यास) आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
निगमले आज एक विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर ग्यास खपत हुने अवस्थामा थप सिलिन्डर भरेर नराख्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको विकल्पमा बिजुलीको खपत बढाउन आग्रह गरेको हो।
नेपाल पेट्रोलियम पदार्थको आयातमा पूर्ण रूपमा परनिर्भर रहेको अवस्थामा यसको खपतमा सावधानी र सुरक्षात्मक प्रबन्ध अपनाउन जरुरी रहेको निगमले स्पष्ट पारेको छ।
अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण (होल्ड) गरेको पाइएमा, तोकिएको भन्दा बढी मूल्य लिएर ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा वा नयाँ सिलिन्डर बिक्रीवितरण गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी निगमले दिएको छ।
निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इन्धन तथा एलपी ग्यासको आयात र बिक्रीवितरण नियमित भइरहेको छ र आगामी दिनमा पनि निरन्तर हुनेछ। तर, मध्यपूर्वमा देखिएको समस्याका कारण विश्व बजारमा पर्ने प्रभावबाट नेपाल पनि अछुतो रहन नसक्ने सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक परिमाणमा मात्र इन्धन तथा ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध छ।’
साथै, निगमले औद्योगिक प्रयोजनमा समेत पेट्रोलियम पदार्थ र ग्यासको खपत कम गर्न आग्रह गरेको छ ।
फागुन २७, २०८२ बुधबार २०:५१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।