नयाँ बन्ने सरकारलाई नीताको सुझाव, 'गल्ली-गल्लीमा सीसीटीभी जडान गरियोस्'
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उत्साहजनक सफलताले देश विदेशमा चर्चा पायो।
विशेष रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गरेर निर्वाचनमा होमिएकाले वरिष्ठ नेता वालेन्द्र शाह 'बालेन'प्रति सामाजिक सञ्जालमार्फत सुझाव र अपेक्षाहरू प्रकट भइरहेका छन्।
निर्वाचनपछि नयाँ सरकार गठनको सार्वजनिक बहस चलिरहेका बेला विभिन्न क्षेत्रका व्यक्तित्वहरूले सुझावसहितको शुभकामना दिइरहेका छन्। यसै सन्दर्भमा, अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना अधिकारीले पनि सामाजिक सञ्जालमार्फत अब बन्ने सरकारलाई सुझाव पेश गरेकी छन्।
उनी लेख्छिन्, "अब बन्ने सरकारलाई यो निवेदन गर्न चाहन्छु कि सहरका मुख्य चोक र सडकमा मात्र होइन, सहरका गल्ली-गल्ली, जङ्गलतिर जाने बाटोघाटो तथा अन्य सबै स्थानलाई ध्यानमा राखेर सिसी टिभी जडान गर्न आवश्यक छ। यसले चोरी, डकैती, बलात्कार जस्ता हिंसात्मक घटनाहरू हुन नदिन मद्दत गर्नेछ र यदि त्यस्ता घटना भइहालेमा पनि अपराधीलाई पहिचान गर्न सजिलो हुनेछ।"
उनले बलात्कार पछि हत्या गरिएकी कञ्नपुरकी निर्मला पन्त जस्ताले न्याय नपाएको गुनासो गर्दै सुरक्षाको प्रत्याभूति दिन अनुरोध समेत गरेकी छन्।
उनी थप्छिन्, "अहिले पनि हामी महिलाहरू पूर्ण रूपमा सुरक्षित महसुस गर्न सकेका छैनौं। विभिन्न आपराधिक घटनाहरू भइरहेका छन्। त्यसैले सबै नागरिक, विशेष गरी महिलाको सुरक्षालाई ध्यानमा राखी नेपालका विभिन्न स्थानमा सिसी टिभी जडान गर्ने व्यवस्था मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछु। अहिले पनि निर्मला पन्त बहिनी जस्ता धेरै दिदीबहिनीहरूले न्याय पाएका छैनन् भन्ने कुरा स्मरण रहोस्।"
फागुन २७, २०८२ बुधबार १४:३०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।