मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ।
यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ। साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
त्यसैगरी, बुधबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
महाशाखाले मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको पूर्वानुमान गरेका स्थानका सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ।
फागुन २७, २०८२ बुधबार ०७:२६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।