स्याङ्जामा मतदान गर्न लुकिछिपी आएका फरार अभियुक्त पक्राउ
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका कसूरदारलाई पक्राउ गरेको छ। निर्वाचनको समयमा लुकिछिपी मतदान गर्न आएका फरार अभियुक्तलाई प्रहरीको विशेष टोलीले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रेस विज्ञप्ति जारी गर्दै फरार अभियुक्तलाई पक्राउ गरी कैद तथा जरिवाना असुल उपरका लागि अदालतमा बुझाइएको जनाएको छ।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका अर्जुनचौपारी गाउँपालिका–५ का ४० वर्षीय प्रेम बहादुर दर्जीलाई स्याङ्जा नगरपालिका–५ स्थित लालपोखरीबाट पक्राउ गरिएको हो।
त्यस्तै बैङ्किङ कसुरका दुई छुट्टाछुट्टै मुद्दामा फैसला भई फरार रहेका पुतलीबजार नगरपालिका–५ का ५८ वर्षीय बुद्धिमान शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त मुद्दामा उनलाई तीन दिन कैद र दुई लाख ६३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
यसैगरी बहुविवाह मुद्दामा २ वर्ष ५ महिना १३ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका आँधीखोला गाउँपालिका–४ का ७४ वर्षीय राम बहादुर कामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार, पक्राउ परेका सबै कसूरदारलाई कैद भुक्तान र जरिवाना असुलका लागि फागुन २५ गते जिल्ला अदालतमा पठाइएको छ।
फागुन २६, २०८२ मंगलबार १२:३३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।