झलनाथकी श्रीमतीलाई जिउँदै जलाएको घटनामा बझाङका दिलबहादुरविरुद्ध मुद्दा, भर्याङ हालेर यसरी गरिएको थियो उद्धार
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालको काठमाडौंस्थित निवासमा तोडफोड तथा आगजनी गरी उनकी पत्नी रविलक्ष्मी चित्रकारको ज्यान मार्ने उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
जेनजी आन्दोलनको नाममा खनाल निवासमा भएको सुनियोजित आक्रमण, आगजनी र ज्यान लिने प्रयासको कसुरमा एक जनालाई मुख्य प्रतिवादी बनाउँदै १० करोड २४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसहित कडा कैद सजायको मागदावी गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोग पत्र दायर गरेको हो।
के थियो घटना ?
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा आन्दोलनकारीको एक समूह काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लु आवासस्थित पूर्वप्रधानमन्त्री खनालको निवासमा पुगेको थियो।
उक्त समूहले नाराबाजी गर्दै ढुङ्गामुढा प्रहार गरी घरको कम्पाउन्ड तोडफोड गरेको थियो। प्रदर्शनकारीहरूले घरको सुरक्षाका लागि खटिएको सुरक्षा दस्तालाई तितरबितर पारी ग्यारेजमा राखिएको बागमती प्रदेश ०३-०१-०२ झ ५१८७ नम्बरको सरकारी गाडी, सञ्चार साधन, फर्निचर, लत्ताकपडा र नगद जिन्सी सामानमा पेट्रोलियम पदार्थ छर्केर आगजनी गरेका थिए।
घटनाको समयमा पूर्वप्रधानमन्त्री खनालका पति-पत्नी दुवै घरमै थिए। विदेशी पाहुना तथा नेताहरूसँगको भेटघाटका कारण त्यहाँ चहलपहल हुने गर्थ्यो। भीडले आक्रमण गरेपछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा पूर्वप्रधानमन्त्री खनाललाई सुरक्षित स्थानतर्फ उद्धार गरिएको थियो। तर, उनकी ७० वर्षीया पत्नी रविलक्ष्मी चित्रकार भने आगो लागेको घरभित्रै फसेकी थिइन्।
यसरी गरियो रविलक्ष्मीको उद्धार
अभियोग पत्रका अनुसार घरभित्र आगजनी भइसकेपछि रविलक्ष्मी चित्रकार घरबाहिर निस्कन नसक्ने अवस्थामा थिइन्। आक्रमणकारीहरूले उनलाई मार्ने मनसायले नै घरबाहिर निस्कन नदिई आगो लगाएका थिए। घरभित्रै फसेर आगोले शरीर जलिरहेको अवस्थामा छिमेकीहरू र सुरक्षाकर्मीहरू मिलेर छिमेकीको घरबाट भर्याङ हाली उनको साहसिक उद्धार गरेका थिए।
उद्धारपश्चात् उनलाई तत्कालै उपचारका लागि एपोलो अस्पताल लगिएको थियो। अस्पतालको रिपोर्टअनुसार आगोका कारण उनको शरीरको १५ प्रतिशत भाग जलेको थियो। धुवाँका कारण श्वासनलीमा असर, दायाँ फोक्सोमा निमोनिया र देब्रे हातको कुहिनोसम्म काटिएको वा गम्भीर क्षति भएको अवस्थामा उनलाई ‘बर्न एण्ड सर्जिकल आईसीयू’मा भर्ना गरी उपचार गरिएको थियो।
मुख्य प्रतिवादी र अन्य संलग्नको खोजी
यस गम्भीर आपराधिक घटनामा प्रहरीले सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं बस्ने ३४ वर्षीय दिल बहादुर खातीलाई पक्राउ गरी मुख्य प्रतिवादी बनाएको छ।
सञ्जय ध्याको, हिराकाजी श्रेष्ठ र साङ आमु शेर्पा लगायतका प्रत्यक्षदर्शी छिमेकीहरूले दिएको बयानका आधारमा दिल बहादुर खातीसमेतको संलग्नतामा उक्त तोडफोड र ज्यान मार्ने उद्योग भएको पुष्टि गरिएको छ।
त्यसैगरी, जाहेरीमा नाम उल्लेख भएकी श्रद्धा नेपाली लगायत अन्य फरार प्रतिवादीहरूको हकमा भने यकिन नाम, थर र ठेगाना खुलेका बखत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम पछि छुट्टै पूरक अभियोग पत्र ल्याउने गरी अदालतमा जानकारी गराइएको छ।
कानुनी मागदावी: १२ वर्षसम्म कैद र भारी जरिबानाको माग
जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालद्वारा मिति २०८२ फागुन २५ गते दायर गरिएको अभियोग पत्रमा प्रतिवादी दिल बहादुर खातीमाथि दुईवटा मुख्य कसुरमा सजाय माग गरिएको छ:
१. आपराधिक उपद्रव: मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) र (२) को खण्ड (क) विपरीतको कार्य गरेको भन्दै उपदफा (३) को खण्ड (घ) बमोजिम सजाय माग गरिएको छ। यस कानुनअनुसार कसैको घर वा सम्पत्तिमा आगो लगाई आपराधिक उपद्रव गरेमा २ वर्षदेखि ५ वर्षसम्म कैद र २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।
२. ज्यान मार्ने उद्योग: घरभित्र मानिस छ भन्ने जानीजानी बाहिर निस्कन नदिई आगो लगाएको हुनाले मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ को उपदफा (१) विपरीतको कसुरमा उपदफा (२) बमोजिम १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना माग गरिएको छ।
यसका साथै, एउटै वारदातमा एकभन्दा बढी (आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग) कसुर गरेको हुनाले संहिताको दफा ४३ बमोजिम ‘एकीकृत कसुर’ बापत थप सजायको माग गरिएको छ। जसअनुसार सबैभन्दा बढी सजाय हुने कसुरको सजायमा अर्को कसुर बापतको सजायको आधा सजाय थप गरी सजाय गर्न अदालतसमक्ष मागदावी लिइएको छ।
१० करोड २४ लाख ५० हजार क्षतिपूर्ति भराउन माग
यस घटनामा पूर्वप्रधानमन्त्री खनालको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको, बहुमूल्य सामान, गहना, फर्निचर, नगद लुटपाट र जलेर नष्ट भएको तथा रविलक्ष्मी चित्रकारको उपचारमा ठूलो रकम खर्च भएको विवरण अभियोग पत्रमा पेश गरिएको छ।
यसको आधारमा अपराध संहिताको दफा २८५ को उपदफा (४) र दफा १८६ बमोजिम प्रतिवादी दिल बहादुर खातीसमेतबाट जम्मा रु. १० करोड २४ लाख ५० हजार बराबरको क्षतिपूर्ति जाहेरवाला (पीडित पक्ष) लाई भराई पाउन माग गरिएको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदारबाट ‘पीडित राहत कोष’मा क्षतिपूर्ति शुल्कसमेत जम्मा गराउन माग गरिएको छ।
प्रमाणको रूपमा भिडियो फुटेज र मन्त्रालयको पत्र
सरकारी वकिलको कार्यालयले यस मुद्दालाई बलियो बनाउन प्रशस्त प्रमाणहरू अदालतमा पेश गरेको छ।
जसमा घटनास्थलको प्रकृति मुचुल्का, प्रत्यक्षदर्शी छिमेकीहरूको तमसुक (कागज), एपोलो अस्पतालको मेडिकल रिपोर्ट, र सबैभन्दा महत्त्वपूर्ण-घटनाको सिसिटिभी तथा भिडियो फुटेज समावेश भएको एउटा पेनड्राइभ खामबन्दी गरी अदालतमा बुझाइएको छ। यसका अलावा गृह मन्त्रालयले क्षतिको यकिन गरी पठाएको पत्रलाई पनि मुख्य प्रमाणको रूपमा लिइएको छ।
राजनीतिक आवरण वा आन्दोलनको नाममा व्यक्तिको निजी सम्पत्तिमाथि आगजनी गर्ने र ज्यानै लिने मनसायले गरिएको यस प्रकारको आक्रमणलाई प्रहरी र सरकारी वकिलले गम्भीर ‘आपराधिक उपद्रव’को रूपमा लिँदै अदालतमा कडा कानुनी कारबाहीको माग गरेका छन्।
फागुन २६, २०८२ मंगलबार ०८:०८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।