आजको मौसम : देशभर साधारणतया बदली रहने, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : देशभर साधारणतया बदली रहने, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र पूर्वी भूभाग नजिकको तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (बादल लाग्ने) रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागलगायत लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

फागुन २६, २०८२ मंगलबार ०७:१४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।