न रहे प्रदेश सांसद, न पुगे संघीय संसद्
बुटवल : राजनीतिमा कहिलेकाहीँ अत्यधिक महत्त्वाकांक्षाले ‘नयाँ खोज्दा पुरानो पनि गुमाउने’ अवस्था सिर्जना गर्छ। भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका चार जना निवर्तमान प्रदेशसभा सदस्यहरूले यस्तै नियति भोगेका छन्।
आफ्नो कार्यकाल अझै दुई वर्ष बाँकी छँदै प्रदेश सांसद पदबाट राजीनामा दिएर संघीय संसद्को यात्रा तय गर्न खोज्ने चारमध्ये तीन जना नेताहरू नराम्ररी पराजित भएका छन्। उनीहरूका लागि यो निर्वाचन ‘न रह्यो प्रदेश सांसद पद, न पुगे संघीय संसद्’ भनेजस्तै साबित भएको छ।
यसरी राजीनामा दिएर चुनावी मैदानमा होमिनेहरूमा दाङ क्षेत्र नम्बर ३ (२) का धनबहादुर मास्की (नेपाली कम्युनिस्ट पार्टी-नेकपा), बाँके क्षेत्र नम्बर १ (१) की कृष्णा केसी (नेकपा), बर्दिया क्षेत्र नम्बर २ (२) का धर्मबहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी) र रुपन्देही क्षेत्र नम्बर ४ (१) का कन्हैया बानियाँ (लोकतान्त्रिक समाजवादी पार्टी) थिए।
यीमध्ये राजनीतिक हावाको सही आकलन गर्न सक्ने कन्हैया बानियाँ मात्र संघीय संसद्मा पुग्न सफल भएका छन् भने अन्य तीन जना मुख्य प्रतिस्पर्धामै आउन सकेनन्।
‘रास्वपा’को लहर बुझ्ने बानियाँको चलाखी
प्रदेशसभा सदस्यको पद त्यागेर संघीय राजनीतिमा उक्लिने जोखिमपूर्ण लक्ष्यसहित मैदानमा उत्रिएकामध्ये रुपन्देहीका कन्हैया बानियाँ एक मात्र भाग्यशाली र चतुर खेलाडी साबित भए। उनले चुनावअघि नै जनमतको मुड बुझेर आफ्नो पुरानो पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरे।
देशभर चलिरहेको नयाँ दलको लहरलाई समात्दै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेर रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बने। उनको यो निर्णय पूर्णतः सही साबित भयो।
बानियाँले २८ हजार ०६६ मतसहित शानदार जित दर्ता गराए। उनले एमालेका उम्मेदवार प्रमोद यादवलाई पराजित गरे। यादवले २० हजार २६२ मत मात्र प्राप्त गरे। दल बदलेरै भए पनि संघीय सांसद बन्ने उनको सपना रास्वपाको ‘घण्टी’ चुनाव चिन्हले पूरा गरिदियो।
महत्त्वाकांक्षाले निम्त्याएको राजनीतिक बिचल्ली
बानियाँबाहेक राजीनामा दिएर चुनाव लडेका अन्य तीन जनाको भने नराम्रो पराजय भएको छ। रोचक कुरा त के छ भने, यी तीनै जना निवर्तमान प्रदेश सांसदहरू रास्वपाकै उम्मेदवारको भेलमा बगेर पराजित भएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी कृष्णा केसीको अवस्था सबैभन्दा दयनीय रह्यो।
प्रदेशको प्रभावशाली पद छाडेर गएकी उनले जम्मा १ हजार २४० मत मात्र प्राप्त गरिन्। छैटौँ स्थानमा सीमित भएकी उनको जमानत (धरौटी) समेत जफत भयो। यस क्षेत्रमा रास्वपाका सुरेश कुमार चौधरीले ३२ हजार ७९२ मतसहित भारी अन्तरले विजय हासिल गरे।
दाङ क्षेत्र नम्बर ३ मा नेकपाबाटै उम्मेदवार बनेका धनबहादुर मास्कीले पनि आफ्नो पुरानो साख जोगाउन सकेनन्। प्रदेशमा चुनाव जितेको यस क्षेत्रमा उनले जम्मा ९ हजार ३२८ मत प्राप्त गरे र चौथो स्थानमा चित्त बुझाउन बाध्य भए। यहाँ पनि रास्वपाकै सुनामी देखियो। रास्वपाका कमल सुवेदी ४४ हजार २४८ मत प्राप्त गर्दै विजयी भए।
बर्दिया क्षेत्र नम्बर २ (२) बाट नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभा सदस्य जितेका धर्मबहादुर चौधरीले पनि सांसद पद त्याग्ने जोखिम मोले। उनी पार्टी परिवर्तन गरी ‘उज्यालो नेपाल पार्टी (उनेपा)’ बाट बर्दिया क्षेत्र नम्बर २ को संघीय चुनावमा उठे।
तर, नयाँ पार्टी र नयाँ महत्त्वाकांक्षालाई त्यहाँका जनताले पत्याएनन्। उनले जम्मा ४ हजार ४ सय ७२ मत प्राप्त गरेर पाँचौँ स्थानमा खुम्चिनु पर्यो। यस क्षेत्रमा पनि रास्वपाकै श्रीधर पोख्रेल २९ हजार ६७८ मतसहित निर्वाचित भए।
फागुन २५, २०८२ सोमबार १४:१५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।