तेस्रो पटक सर्किट ब्रेक लागेपछि आजका लागि सेयर कारोबार बन्द

तेस्रो पटक सर्किट ब्रेक लागेपछि आजका लागि सेयर कारोबार बन्द

काठमाडौं : चुनावपछि खुलेको सेयर बजार खुलेको छोटो समयमै नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार पूर्ण रूपमा बन्द भएको छ।

नेप्सेको 'सर्किट ब्रेकर' नियमअनुसार ६ प्रतिशतको वृद्धि भएमा उक्त दिनको बाँकी समयका लागि कारोबार बन्द हुने व्यवस्था छ।

आज बिहान ११ बजे खुलेको बजारमा लगातारको खरिद चापका कारण १२ बजेर १ मिनेट जाँदा परिसूचक ६ प्रतिशतले बढेर २,८७५.४३ को विन्दुमा पुगेपछि आजको कारोबार स्थगन भएको हो।

५५ करोडभन्दा बढीको सेयर किनबेच
एक घण्टाको अवधिमा बजारले निकै ठूलो फड्को मारेको छ। आजको एक घण्टाको संक्षिप्त कारोबार अवधिमा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस अवधिमा ११ लाख ४३ हजार ७६७ कित्ता सेयर ४,०५१ पटक खरिदबिक्री भएका छन्।

बजारको 'मार्केट समरी' हेर्दा २६१ वटा कम्पनीको सेयर कारोबारमा आएकोमा २५२ वटा कम्पनीको मूल्य बढेको छ भने जम्मा १ वटा कम्पनीको मूल्य घटेको छ।

आजको बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा 'पोजेटिभ सर्किट' लागेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक ले १० प्रतिशतको अधिकतम सीमासम्म वृद्धि हासिल गरेका छन्। हिमालयन रि-इन्स्योरेन्स, सिटी होटल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि १० प्रतिशतकै हाराहारीमा बढेका छन्।

कारोबारमा नबिल र शिवमको वर्चस्व
रकमका आधारमा नबिल बैंकले सर्वाधिक ३ करोड १३ लाख रुपैयाँको कारोबार गरेर शीर्ष स्थान ओगटेको छ।

त्यसैगरी, शिवम सिमेन्ट्सको २ करोड ८९ लाख र सयपत्री हाइड्रोपावरको २ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

लगानीकर्ताको खरिद मागमा आज पनि बैंकिङ क्षेत्र नै हाबी भएको छ। कुमारी बैंक, प्रभु बैंक, र कृषि विकास बैंकलगायतका बैंकको सेयरमा लगानीकर्ताको उच्च चाप देखिएको छ।

आजको यो ऐतिहासिक वृद्धिले चुनावपछि लगानीकर्तामा देखिएको उच्च मनोबल र नयाँ सरकारप्रतिको उच्च अपेक्षालाई प्रतिबिम्बित गरेको छ।

फागुन २५, २०८२ सोमबार १२:२७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।