रवि लामिछानेविरुद्धका तीन रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै, सुवेदी र मुसलमानको इजलासमा पेसी

रवि लामिछानेविरुद्धका तीन रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै, सुवेदी र मुसलमानको इजलासमा पेसी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका व्यक्तिहरूविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएका तीनवटा रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलास तोकेको छ।

महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेसहितका व्यक्तिहरू जोडिएको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाएपछि त्यसको चौतर्फी विरोध भएको थियो। सोही निर्णयविरुद्ध अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि माघ ६ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले यस मुद्दामा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।

माघ ८ गते डा. मनोजकुमार शर्मा र बालकृष्ण ढकालको इजलासमा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने माघ ११ गते न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले यसमाथि थप आदेश जारी गरेको थियो।

महाध्यायधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका थिए।

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक हितविरुद्ध हुने गरी मुद्दा फिर्ता लिने निर्णय गरेको भन्दै रिट निवेदकहरूले उक्त निर्णय खारेज गर्न माग गरेका छन्।

आजको इजलासले यस मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे ठोस निर्णय लिन सक्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ।

फागुन २५, २०८२ सोमबार १२:१५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।