रास्वपाको उम्मेदवारी खारेज भएको क्षेत्रमा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएपछि नेकपाको आपत्ति

रास्वपाको उम्मेदवारी खारेज भएको क्षेत्रमा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएपछि नेकपाको आपत्ति

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि निर्वाचन आयोगले प्रमाणपत्र दिन आलटाल गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले एक प्रेस वक्तव्य जारी गर्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र मतगणनासमेत सम्पन्न भई नतिजा आइसकेको अवस्थामा प्रमाणपत्र नदिनु स्थापित विधि र कानुनविपरीत भएको बताएका छन्।

नेकपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेको विषयलाई औंल्याउँदै आयोगको ध्यानाकर्षण गराएको छ।

वक्तव्यमा भनिएको छ, ‘निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणनासमेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो।’

आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनबमोजिम सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना भएको र मातृकाप्रसाद यादव विजयी भएको नेकपाले दाबी गरेको छ।

‘कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन’, वक्तव्यमा भनिएको छ। यसरी प्रमाणपत्र दिन आलटाल गर्नुलाई पार्टीले चिन्ताजनक विषय भनेको छ।

नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई कुनै पनि राजनीतिक दबाबमा नपरी विधिको शासन पालना गर्न र निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। साथै, यस विषयमा न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

उक्त क्षेत्रमा नेकपाका मातृका यादवले १० हजार ४३० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राम पलटन साहले ९ हजार ५०२ मत ल्याएका छन्। यहाँ उम्मेदवारी खारेज भएका किशोरी साहले भने यी दुईभन्दा अत्यधिक धेरै मत ल्याएका छन्। 

फागुन २५, २०८२ सोमबार १०:३८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।