कास्कीमा रास्वपाका उम्मेदवारलाई भन्दा दललाई बढी मत
गण्डकी : गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फका उम्मेदवारलाई भन्दा समानुपातिकतर्फ बढी मत प्राप्त गरेको छ।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो शक्ति बनेको रास्वपाको हकमा उम्मेदवारभन्दा पार्टीको क्रेज बढी देखिएको हो।
जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार, कास्कीका तीनवटै क्षेत्रमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवारहरूले कुल १ लाख ९ हजार ५४४ मत प्राप्त गरेका छन्।
तर, समानुपातिकतर्फ भने सोही दलले १ लाख १३ हजार ६२८ मत पाएको छ। यसरी प्रत्यक्ष उम्मेदवारले पाएको भन्दा दलले ४ हजार ८४ मत बढी पाएको देखिन्छ।
कांग्रेस र एमालेमा ठिक उल्टो
रास्वपाको विपरीत, प्रमुख दलहरू नेपाली कांग्रेस र एमालेको हकमा भने दललाई भन्दा प्रत्यक्षतर्फका उम्मेदवारलाई बढी मत खसेको छ।
नेपाली कांग्रेसले समानुपातिकतर्फ २८ हजार ६५६ मत पाउँदा, उसका प्रत्यक्ष उम्मेदवारहरूले ३० हजार ४९४ मत ल्याएका छन्।
त्यसैगरी, एमालेले समानुपातिकतर्फ २४ हजार १९९ मत प्राप्त गर्दा, प्रत्यक्ष उम्मेदवारहरूले २५ हजार ८२८ मत सुरक्षित गरेका छन्। यसले पुराना दलहरूमा पार्टीको ब्रान्डभन्दा उम्मेदवारको व्यक्तिगत प्रभाव बलियो रहेको देखिन्छ।
राप्रपा र नेकपामा पनि रास्वपाकै प्रवृत्ति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा भने रास्वपाकै जस्तो प्रवृत्ति देखिएको छ। यी दुवै दलमा प्रत्यक्ष उम्मेदवारलाई भन्दा समानुपातिकमा दललाई बढी मत खसेको छ।
राप्रपाका प्रत्यक्ष उम्मेदवारहरूले जम्मा ४ हजार २७ मत पाउँदा दलले ६ हजार ४६६ मत पाएको छ। यस्तै, नेकपाका प्रत्यक्ष उम्मेदवारहरूले ५ हजार २११ मत पाउँदा दलले ५ हजार ७६३ मत प्राप्त गरेको छ।
फागुन २५, २०८२ सोमबार ०९:४९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।