जो समानुपातिक छोडेर प्रत्यक्ष लडिन्, अनि शानदार ढङ्गले जितिन्

जो समानुपातिक छोडेर प्रत्यक्ष लडिन्, अनि शानदार ढङ्गले जितिन्

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेको समानुपातिक सूचीलाई लिएर तीव्र आलोचना र विवाद भइरहँदा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पुष्पा कुमारी चौधरीले भने साहसपूर्ण निर्णय लिइन्।

दल र उम्मेदवारले व्यक्तिगत आलोचना खेप्नुपरेपछि कतिपयले नाम फिर्ता लिए भने कतिले दल नै परिवर्तन गरे। यही रस्साकस्सीका बीच पुष्पाले सुरक्षित मानिएको समानुपातिक सूचीबाट आफ्नो नाम झिकेर प्रत्यक्षतर्फ चुनाव लड्ने अठोट गरिन्। उनको यो आँटलाई मतदाताले पनि शानदार रूपमा अनुमोदन गरे।

सप्तरी-१ मा प्रत्यक्षतर्फ १४ जना दलगत र ७ जना स्वतन्त्र गरी कुल २१ उम्मेदवार चुनावी मैदानमा थिए। तर, ती सबैलाई फराकिलो मतान्तरले पछि पार्दै पुष्पा ३८ हजार १९५ मतसहित विजयी भइन्।

दोस्रो स्थानमा रहेका नवगठित ‘स्वाभिमान पार्टी’का सुमित कुमारले जम्मा ७ हजार ८४७ मत मात्र प्राप्त गरे। सुमित यसअघि निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का सांसद नवलकिशोर साह सुडीका छोरा हुन्।

मधेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले २०८२ को चुनावअघि मात्र दर्ता गरेको स्वाभिमान पार्टीमा पुराना राजनीतिक खेलाडीहरूको जमघट भए पनि नतिजा उनीहरूको पक्षमा गएन। त्यस्तै, अघिल्ला चारवटा निर्वाचनमा यस क्षेत्रमा लगातार जित्दै आएको जसपा यसपटक नराम्ररी खुम्चिएको छ।

२०७९ को चुनावमा २३ हजार ६०४ मत ल्याएर जितेका सुडीको सट्टा जसपाले यसपटक मधेश आन्दोलनका अभियन्ता श्याम सुन्दर सरदारलाई नयाँ अनुहारका रूपमा अगाडि सारेको थियो। तर, उनी जम्मा २ हजार ५५८ मतका साथ छैटौं स्थानमा सीमित भए।

मधेशी दल र नेताहरूको बाक्लो प्रभाव रहेको यस क्षेत्रमा रास्वपाले कसरी किल्ला तोड्यो त? चुनावअघि नै ‘उकेरा’सँगको कुराकानीमा पुष्पाले रास्वपाको लहर र वरिष्ठ नेता बालेन्द्र शाहको प्रचारका कारण आफूलाई ‘डराउनुपर्ने अवस्था नरहेको’ बताएकी थिइन्।

रास्वपाको मधेश केन्द्रित प्रचारप्रसारले उनको चुनावी अभियानमा निकै सकारात्मक प्रभाव पार्यो। यसका अतिरिक्त, जातीय समीकरणले पनि उनलाई साथ दियो। यस क्षेत्रमा दलित, यादव र थारू समुदायको बाहुल्य छ। आफू स्वयं चौधरी समुदायकी भएकाले उनलाई जित निकाल्न थप बल पुग्यो।

पुष्पा यस क्षेत्रमा रास्वपाकी संस्थापक सदस्य हुन्। विगत तीन वर्षदेखि पार्टीमा सक्रिय ३६ वर्षीया पुष्पा २०७९ को चुनावमा पनि समानुपातिक सूचीमै थिइन्, तर त्यतिबेला सांसद बन्न सकिनन्। परिवारका दाजुभाइले गर्ने राजनीतिक गफगाफबाट प्रभावित भएर राजनीतिमा चासो बढाएकी उनी पेशाले भने स्वास्थ्यकर्मी हुन्।

वि.सं. २०४६ सालमा सप्तरीको कञ्चनरूप नगरपालिकामा जन्मिएकी उनले गाउँबाटै आधारभूत शिक्षा लिएर काठमाडौंबाट उच्च शिक्षा हासिल गरिन्। उनले केही समय वीर अस्पतालमा ‘फार्मासिस्ट’का रूपमा समेत काम गरिन्।

स्वास्थ्य क्षेत्रको लामो अनुभवले उनलाई समाजलाई नजिकबाट चिन्ने अवसर दियो। गाउँमा महिला स्वास्थ्य र परिवार नियोजनका क्षेत्रमा स्वयंसेवकका रूपमा समेत काम गरेकी उनले सर्वसाधारणको पीडा, समस्या र आवश्यकतालाई गहिरोसँग बुझेकी छन्।

गाउँमा महिलालाई हेर्ने दृष्टिकोण अझै नबदलिएको महसुस गर्दै, ती महिला र समाजका मुद्दालाई संसद्‌मा आफैंले उठाउने हुटहुटीले उनलाई राजनीतिमा होमिन प्रेरित गर्यो। समानुपातिकको सूचीमा थन्किएर बस्नुभन्दा प्रत्यक्ष निर्वाचित भएर मधेशका महिलाहरूको आवाज बुलन्द गर्ने लक्ष्यअनुसार उनी अघि बढेकी छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले खोजेको परिवर्तनको सन्देशलाई आत्मसात् गर्दै उनी अगाडि बढेकी छन्। सोही आन्दोलनले उठाएका मूल मुद्दाहरू- सुशासन, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायित्वसहितको पारदर्शितालाई नै उनले आफ्नो मुख्य प्रतिबद्धता बनाएकी छन्।

फागुन २५, २०८२ सोमबार ०९:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।