पुरानो विरासत भत्किदा ३१ वर्षीया रुबिना संसदमा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका युवा तथा महिला उम्मेदवारहरू पक्षमा देशव्यापी रूपमा उल्लेख्य नतिजा प्राप्त भयो। त्यस मध्येकी एक हुन्, ३१ वर्षीया रुबिना आचार्य। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा स्थापित राजनीतिक शक्ति र नेतालाई फराकिलो मतान्तरले पछि पार्दै रुबिना विजयी भइन्।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार रुबिनाले ५५ हजार ५१३ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले १२ हजार ८५० मत मात्र प्राप्त गरे। उनीहरुबीच साढे ४२ हजार बढीको मतान्तर छ।
अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका कोइरालाको ३५ हजार २१८ मत ल्याएका थिए। तर, यसपटक कांग्रेसको प्रभाव क्षेत्रका रूपमा हेरिने यहाँ उनले पराजय भोग्न पर्यो।
रुबिनासँग यस क्षेत्रबाट तीन स्वतन्त्रसहित १८ जना प्रतिष्पर्धी चुनावी मैदानमा थिए। जसमा नेकपा एमालेका उम्मेदवार विनोद ढकाल आठ हजार ३१७ मतमा खुम्चिए।
त्यस्तै, श्रम संस्कृति पार्टीका मातृका पौडेल तीन हजार ४०० मतका साथ चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सबिन निरौला २ हजार ९२ मत प्राप्त गरी पाँचौं स्थानमा रहे। पार्टीको आन्तरिकद्वन्द्वको कारण मत घट्ने आंकलन भइरहँदा कांग्रेसको 'गढ' मानिने क्षेत्रमै आएको यस नतिजालाई मतदाताको परिवर्तनप्रतिको चाहनाका रूपमा हेरिएको छ।
अघिल्लो निर्वाचनमा रास्वपाका यादवकुमार प्रधानले ९ हजार १४० मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए। यसपटक रुबिनाले उक्त जनमतलाई उल्लेख्य रूपमा वृद्धि गर्दै जीतमा परिणत गरिन्। मोरङ-६ को राजनीतिक इतिहास स्थिर नरहेको तथ्यलाई बुझेकी रुबिनाले चुनावअघि नै 'उकेरा'सँगको कुराकानीमा यसपटक रास्वपाको पक्षमा परिणाम आउन सक्ने आंकलन गरेकी थिइन्।
विराटनगरका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडाका शहरी तथा युवा मतदाताको उल्लेख्य समर्थन नै उनको जीतको मुख्य आधार बन्यो। यस क्षेत्रमा सुन्दरहरैँचा नगरपालिकाका केही वडा, बुढीगंगा गाउँपालिका र विराटनगरका सात वटा वडा समेटिएका छन्।
राजनीतिक सक्रियता र पृष्ठभूमि
संसदीय यात्रामा नयाँ अनुहार भए पनि ३१ वर्षीया रुबिना राजनीतिमा सक्रिय व्यक्ति नै हुन्। एमबीए अध्ययन पुरा गरेकी उनले २२ वर्षकै उमेरमा वैकल्पिक राजनीतिको एजेन्डा बोकेको 'विवेकशील नेपाली' दलप्रति आकर्षित थिइन्। काठमाडौंमा अध्ययन गर्दाको समयमा उनले विवेकशीलका अभियान र आन्दोलनहरूमा जोडिएर काम गर्ने, राजनीतिक परिवेश बुझ्ने र नेतृत्व विकाश गर्ने अवसर पाइन्।
२०७४ को निर्वाचन अभियानमा प्रत्यक्ष जोडिएर काम गरेकी उनले त्यसबेला दलको सदस्यता लिइसकेकी थिइनन्। "त्यस बेलाकै चुनावले धेरै कुरा सिकायो, बुझायो," रुबिनाले उकेरालाई भनिन्, "आफै पढ्दै गरेको भए पनि त्यसबेला पार्टीकै युवा संगठन समेत खुलेको थियो। संगठनले गर्ने अभियानमा भाग लिने अनि अध्ययन गर्ने काम चालिनै रहेको थियो।"
डा. गोविन्द केसीको सत्याग्रह, महिला हिंसा विरुद्धका अभियान र कोरोना महामारीका बेला मानवीय सेवालगायत विभिन्न अभियान र सामाजिक कार्यमा जोडिएर उनले आफूलाई सक्रिय राखिन्। यसले उनको समाजप्रतिको जिम्मेवारी र राजनीतिक चेतमा निखार ल्याउन मद्दत पुर्यायो।
विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच भएको एकतापछि विवेकशील साझा पार्टी बन्यो। एकतापछि २०७९ सालमा भएको पहिलो महाधिवेशनको बेला उनले पार्टी सदस्यता लिइन्। "युवा अवस्थामै पार्टीमा आकर्षित भएँ, सहभागिता रह्यो । बुझ्दै र सिक्दै अगाडि बढे," उनले भनिन्।
राजनीतिसँगै उनले 'सेवा नेपाल' नामक संस्थामार्फत महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा काम गरिन्। जसले समाज बुझ्न सघाउ पुगेको उनी सुनाउँछन्। केही समय चितवन मेडिकल कलेजमा काम गरेर उनले व्यावसायिक अनुभव पनि बटुलिन्।
विवेकशीलदेखि रास्वपासम्मको यात्रा
रुबिना वैकल्पिक राजनीतिको जगबाट आएकी उम्मेदवार हुन्। गत मंसिर १४ गते पाँच बुँदे सहमति गरेर विवेकशील साझा रास्वपामा समाहित भयो। जेनजी आन्दोलन पश्चात् विकशित परिस्थिति र निर्वाचनको माहोलको बीच ‘वैकल्पिक’ दलको रूपमा अघि बढिरहेको दल रास्वपामा समाहित भएपछि उनी सोहिबेला रास्वपाको सदस्य बनिन्।
विवेकशीलकै पृष्ठभूमिबाट आएकी रन्जु दर्शना काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित भइएकी छन्। पार्टी रास्वपामा समाहित भएपनि आफूले विवेकशीलको विचारधारा नछोडेको उनी बताउँछन्। पार्टी एकीकरण पछि केही समय अस्तित्व स्वीकार्न समय लागे पनि साझा उद्देश्यका कारण अघि बढ्न सहज भएको उनी सुनाउँछन्।
"पार्टीगत रूपमा एकीकरण भएपछि एकअर्काको अस्तित्वलाई स्वीकार्न चैँ अलि समय लाग्ने रहेछ। एकीकरण भएकै पनि त धेरै भएको छैन। त्यही भएर दुवैतर्फ यसको लागि समय लाग्छ नै होला। तर उद्देश्य एकै भएको मिलेर कारणले अगाडि बढ्न सहज भएको छ," उनले भनिन्।
नयाँ जिम्मेवारी र एजेण्डा
पहिलो पटक चुनावी प्रतिष्पर्धा गरेकी रुबिनाले स्थापित नेतालाई पराजित गर्दै संघीय संसदमा पुगेकी छन्। यो जितबाट उनी निकै उत्साहित छन्। पहिलो चुनावी तथा संसदीय यात्रा भएकाले उनी मिश्रित अनुभव गरिरहेकी छन्। जिम्मेवारी र कर्तव्य इमान्दारीपूर्वक निभाउने समय आएको उनको भनाइ छ।
साथै, लोकतन्त्रको गतिशीलता र जीवन्तता देख्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्। घरदैलोका क्रममा मतदाताले भाषण र आश्वासनभन्दा ठोस परिवर्तन खोजेको उनले महसुस गरेकी थिइन्। शिक्षा, स्वास्थ्य, पर्यटन र युवा सहभागितालाई उनले आफ्नो मुख्य प्राथमिकतामा राखेकी छन्।
महिला सहभागिता देखि नेतृत्वसम्म पुग्न पर्छ भनेर अभियानमा जोडिएर काम गरेको कारणले उनले अप्ठ्यारो चुनौती सुरु देखिनै नभएको बताइन्। अगाडि गरेका कामहरूले अहिले चुनावमा बल पुगेको उनको भनाइ छ। "समाजको समस्याहरूबारे जानकार भएको कारणले सहज भयो, जस्तो लाग्छ। अनि श्रीमान् र ममीहरूको साथले बल पुग्यो," उनले भनिन्।
घरदैलो कार्यक्रममा रहँदा नै उनले मतदाताले परिवर्तन खोजेको अनुभव गरिसकेकी थिइन्। नयाँ एजेण्डासहित नयाँ अनुहारको खोजिरहेको मतदाताहरूको मनोविज्ञानसँग उनी नजिक थिइन्।
"हामीलाई नै स्वागत गरेर बसिराख्नु भएको जस्तो देखेको थिए," उनी भन्छिन्, "उहाँहरूले एकदम परिवर्तन खोज्नु भएको छ। नयाँ अनुहार र नयाँ एजेण्डालाई स्वागत गर्न तयार हुनुभयो। अहिलेसम्म भाषण र आश्वासन मात्र पाइरहेकोमा उहाँहरूको व्यापक गुनासो र निराशा समेत मैले देखे।"
शिक्षा, स्वास्थ्य, महिला र युवा सहभागितासँगै अनि पर्यटनको क्षेत्र उनको प्रतिवद्धता अटाएका थिए। "यस अघि आफूहरू भोट बैंकको रूपमा मात्र प्रयोग भएको पनि उहाँहरूले बुझ्नु भएको छ। त्यै भएर हामीजस्ता नयाँ पुस्ताहरूलाई यो चुनाव चुनौतीसँगै आफ्नो एजेण्डाहरु प्रस्तुत गर्ने अवसर पनि भयो। यो जीत हामीसँगै उहाँहरूको नयाँ प्रतिको सोचको पनि हो," उनले भनिन्।
फागुन २४, २०८२ आइतबार १२:१४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।