पार्टी सुधारको नारा दिएर सभापति बनेका गगन थापा सर्लाही-४ बाट भारी मतान्तरले पराजित, रास्वपाका अमरेश निर्वाचित
सर्लाही : नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन्।
काठमाडौं-४ को आफ्नो सुरक्षित निर्वाचन क्षेत्र छोडेर सर्लाही पुगेका थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंहले भारी मतान्तरले हराउँदै शानदार जित हात पारेका हुन्।
सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चुनाव चिह्न ‘घण्टी’ लिएर प्रतिस्पर्धा गरेका रास्वपाका अमरेश कुमार सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै जित निकालेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २२ हजार ८ सय ३१ मत मात्र प्राप्त गरे। सिंहले थापालाई १२ हजार ८ सय ५७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
त्यसैगरी, यस क्षेत्रमा एमालेका उम्मेदवार अमुनिश कुमार यादव ९ हजार ३४३ मत प्राप्त गर्दै तेस्रो स्थानमा खुम्चिएका छन् भने जनमत पार्टीका राकेश कुमार मिश्रले जम्मा १ हजार ५७२ मत प्राप्त गरेका छन्।
कांग्रेसलाई नसोचेको धक्का
यसअघिका निर्वाचनहरुमा काठमाडौं क्षेत्र नं. ४ बाट लगातार जित्दै आएका थापा यसपटक मधेश झरेका थिए।
पार्टीभित्र व्यापक ‘रिफर्म’को एजेन्डा उठाएर हालै सम्पन्न विशेष महाधिवेशनमार्फत पार्टीको मूल नेतृत्व हात पार्न सफल भएका थापाको यो व्यक्तिगत हार मात्र नभएर सिङ्गो पार्टीका लागि ठूलो झट्का हो।
सभापति स्वयंको फराकिलो हारसँगै नेपाली कांग्रेसले यस निर्वाचनमा नसोचेको अनपेक्षित हार व्यहोरेको छ। पार्टी सुधारको महत्त्वाकांक्षी नारा र नयाँ नेतृत्वसहित चुनावमा होमिएको कांग्रेसलाई मतदाताले पत्याएनन्।
फागुन २४, २०८२ आइतबार ०७:५४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।