रुपन्देहीमा ‘रास्वपा’को ‘क्लिनस्विप’

रुपन्देहीमा ‘रास्वपा’को ‘क्लिनस्विप’

बुटवल : रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, एमाले लगायत पुराना दलका नेताहरूको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिनस्विप’ गरेको छ।

यहाँका सबै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू फराकिलो मतान्तरले विजयी भएका छन्। रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपाका महामन्त्री सुनिल लम्साल विजयी भए। उनी ५४ हजार ८५४ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत मात्र प्राप्त गरे। उनी देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन्।

यहाँ ८ हजार ३०१ मत प्राप्त गर्दा राप्रपाका प्रज्वल बोहोरा तेस्रो स्थानमा रहे। उनी स्व. दीपक बोहोराका छोरा हुन्। गएको निर्वाचनमा यस क्षेत्रमा एमाले सचिव छविलाल विश्वकर्मा विजयी भएका थिए। उनी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालसँग पराजित भएका थिए।

रुपन्देही क्षेत्र नम्बर २ मा ४३ हजार ६८९ मतान्तरले रास्वपा उम्मेदवार सुलभ खरेल विजयी भए। ५६ हजार ५५० मत ल्याएर सुलभले एमाले उपाध्यक्ष विष्णु पौडेलको ‘किल्ला’ भत्काए। चार पटकसम्म यही क्षेत्रबाट निर्वाचित भएका पौडेलले यसपटक १२ हजार ८६१ मत मात्र प्राप्त गरे।

गएको निर्वाचनमा यही क्षेत्रबाट उपाध्यक्ष पौडेल निर्वाचित भएका थिए। त्यो बेला उनको प्रतिस्पर्धा रास्वपाकै गणेश पौडेलसँग भएको थियो। उनी झिनो मतले विजयी भएका थिए।

रुपन्देही क्षेत्र नम्बर ३ मा रास्वपाकै डा. लेखजंग थापा निर्वाचित भए। थापाले ५८ हजार ८१४ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ र एमालेका वासुदेव घिमिरेले ८ हजार २७८ मत मात्र प्राप्त गरे। गएको निर्वाचनमा यहाँ एमालेसँगको तालमेलबाट राप्रपाका दीपक बोहोरा विजयी भएका थिए।

रुपन्देही क्षेत्र नम्बर ४ मा रास्वपाकै कन्हैया बानिया विजयी भएका छन्। उनले २८ हजार ६६ मत ल्याए भने एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मात्र प्राप्त गरे। तत्कालीन लोसपाबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेका बनिया पछि रास्वपा प्रवेश गरी संघीय सांसदमा होमिएका थिए।

यता यादव भने मनोनयनको केही दिन अघि मात्र एमालेमा प्रवेश गरेका थिए। यो निर्वाचन क्षेत्रबाट गएको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका थिए। उनले त्यतिबेला नेपाली काँग्रेसमा रहेका प्रमोद यादवलाई पराजित गरेका थिए।

रुपन्देही क्षेत्र नम्बर ५ मा रास्वपाकै तौफिक अहमद खान विजयी भएका छन्। युवा व्यवसायी खानले ३८ हजार ८०६ मत प्राप्त गरे, जबकि एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मात्र ल्याए। कांग्रेसबाट भरतकुमार शाहले १२ हजार ६२६ मत पाए।

२०७९ को निर्वाचनपछि मात्रै उदाएको रास्वपाले अहिले कांग्रेस, एमाले, नेकपालगायतका दलहरूको दशकौंको हैसियत खासेको छ। पुराना दलहरूको ‘किल्ला’का रूपमा हेरिने रुपन्देहीमा यसपटक रास्वपाले क्लिनस्विप नै गरेको छ।

फागुन २३, २०८२ शनिबार २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।