पराजित भएपछि रेनुले भनिन्- 'मन जितेँ, मत जित्न सकिनँ'
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आफूले जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो पराजय स्वीकार गरिन्।
भरतपुर महानगरपालिकाको विकास र समृद्धिमा आफ्नो ९ वर्षको ऊर्जा खर्चिएको उल्लेख गर्दै दाहालले भनिन्, "मैले कामद्वारा तपाईंहरुको मन त जिते, तर मत जित्न सकिनँ। मत जित्ने मा. सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहन्छु।"
महानगर प्रमुखको १५ महिनाको कार्यकाल बाँकी छँदै राजीनामा दिएर चुनावी मैदानमा उत्रिएकी उनले नीतिगत तहमा सुधार ल्याउन आफू संघीय निर्वाचनमा होमिएको बताइन्। उनले लेखेकी छन्, "मलाई लाग्यो विकासका लागी जनताका पक्षमा राम्रा नीति नियम नहुनाले कामहरू असहज भइरहेका छन्। त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उम्मेदवारी दिई निर्वाचनमा होमिएँ।"
निर्वाचनको परिणामलाई 'सुनामीको लहड'को संज्ञा दिँदै उनले यस्तो प्रतिकूल अवस्थामा पनि आफूलाई विश्वास गर्ने मतदाताप्रति आभार प्रकट गरेकी छन्। उनले भनेकी छन्, "यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति म ऋणी छु। तपाईंहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन।"
दाहालले आफू पराजित भए तापनि चितवनवासीको हकहित, विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहने बताएकी छन्। उनले आगामी दिनमा निर्वाचित उम्मेदवारमार्फत चितवनको थप विकास हुने विश्वास समेत व्यक्त गरेकी छन्। उनले उम्मेदवारी दिएको चितवन- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन्।
फागुन २३, २०८२ शनिबार १७:३६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।