स्थानीय तहमा पराजित खडकबहादुरको ‘संसदीय छलाङ’ : जाजरकोटमा शक्ति बस्नेतलाई पछि पार्दै बने सांसद
जाजरकोट : राजनीतिमा कुनै हार अन्तिम हुँदैन भन्ने उदाहरण जाजरकोट-१ का नवनिर्वाचित सांसद खडकबहादुर बुढाले प्रस्तुत गरेका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका ४० वर्षीय बुढाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्रीसमेत रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै संसद्को यात्रा तय गरे।
रास्वपाको लहर अनि माओवादीको गढ मानिने उनले बस्नेतलाई करिब ३ हजारको मतान्तरले हराएका हुन्। बस्नेत नेकपा मसालबाट माओवादी हुँदै तीन पटक सांसद भइसकेका थिए। गत निर्वाचनमा उनले ३४ हजार मतले जितेका थिए। यस पटक उनले १७ हजार मात्र मत पाए।
जाजरकोटको शिवालय गाउँपालिका-९, नाहाडाका बुढा २०६३ मा नेविसंघको जिल्ला सचिव र २०६४ मा भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापति बनेका थिए।
बुढा २०६७ सालमा भएको पार्टीको १२औँ महाधिवेशनमा देशभरकै कान्छो महाधिवेशन प्रतिनिधि बनेर चर्चामा आएका थिए। त्यसपछि १३औँ महाधिवेशनमा जिल्ला सचिव र १४औँ महाधिवेशनबाट उप-सभापति बनेका उनी हाल जाजरकोट कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन्।
खडकबहादुरको चुनावी इतिहास रोचक छ। २०७४ को स्थानीय तह निर्वाचनमा उनी शिवालय गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार थिए, तर उनले सफलता पाउन सकेनन्। स्थानीय तहमा हारेको नेताले संघमा कसरी प्रतिस्पर्धा गर्लान् भन्ने प्रश्नका बीच उनले यसपटक प्रत्यक्षतर्फको चुनावी मैदानमा आफूलाई होमेका थिए।
फागुन २३, २०८२ शनिबार १७:०८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।