झापा-५ मा केपी ओली २९ हजार मतले पछाडि
काठमाडौं : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले पछाडि परेका छन्। गणना जारी रहँदा अध्यक्ष ओली बालेन शाहभन्दा झण्डै २९ हजार मतले पछि परेका हुन्।
पछिल्लो मतपरिणाम अनुसार बालेन शाहले ३९ हजार २८४ मत प्राप्त गर्दा अध्यक्ष ओली १० हजार २९३ मतमा सीमित भएका छन्। हाल उनीहरूबीचको मतान्तर २८ हजार ९९१ पुगेको छ।
यो मतान्तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ओलीले निकालेको जितको अन्तरभन्दा पनि बढी हो। २०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए।
तत्कालीन समयमा उनका निकटतम प्रतिस्पर्धी अधिकारीले २३ हजार ७४३ मत पाएका थिए। तर, यसपटक स्थिति उल्टिएको छ र ओली आफैँ सोही हाराहारीको मतान्तरले पछि परेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ६२ हजार मत गणना भइसकेको छ। झापा-५ मा कुल १ लाख ६३ हजार मतदाता रहेका छन्। मतगणना कार्य जारी छ।
फागुन २३, २०८२ शनिबार ११:१०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।