सर्लाही-३ मा नारायणकाजी श्रेष्ठ १३ हजार ९२९ मतले पछाडि
सर्लाही : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ निकै फराकिलो मतान्तरले पछि परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवारले श्रेष्ठलाई झण्डै १४ हजार मतले पछि पार्दै जिततर्फ अग्रसर भएका छन्।
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार, रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवारले २१ हजार ६२९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मानिएका नेता श्रेष्ठले भने जम्मा ७ हजार ७०० मत प्राप्त गरेका छन्।
अहिले रास्वपाका कलवार र श्रेष्ठबीचको १३ हजार ९२९ मतान्तर रहेको छ। गणना हुन बाँकी मत र हालको फराकिलो अन्तर हेर्दा श्रेष्ठलाई यो खाडल पुर्न निकै कठिन देखिन्छ।
यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार खनालले २ हजार ९५० मत प्राप्त गरेका छन् भने चौथो स्थानमा रहेका नेकपा एमालेका हरि प्रसाद उप्रेतीले २ हजार ४०३ मत पाएका छन्।
फागुन २३, २०८२ शनिबार १०:१४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।