विवेकशीलको जगदेखि रास्वपाको लहरसम्म : काठमाडौं-५ मा प्रदीप र ईश्वरलाई पछि पार्दै सस्मितको जित
काठमाडौं : दशकौंदेखि राजनीतिमा राज गर्दै आएका पुराना, स्थापित र प्रभावशाली दलका नेताहरूलाई किनारा लगाउँदै काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार सस्मित पोखरेलले ऐतिहासिक जित हासिल गरेका छन्।
२९ वर्षीय पोखरेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाजस्ता राजनीतिका दिग्गज हस्तीहरूलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
२५ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रमा पुराना दलका शीर्ष नेताहरूको उपस्थितिले प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको थियो। तर, मतपरिणाम आउँदा ती सबै अनुमान गलत साबित भए र मतदाताले पूर्ण रूपमा नयाँ विकल्प रोजेको पुष्टि भयो।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सस्मित पोखरेलले ३० हजार ७३१ मत प्राप्त गरेका छन्। यो मत उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्राप्त गरेको मतभन्दा तीन गुणाले बढी हो। कांग्रेस उम्मेदवार पौडेल ९ हजार १५९ मतमा सीमित हुन पुगे।
रोचक कुरा के छ भने, २०७९ सालको निर्वाचनमा पौडेल १५ हजार २६९ मत ल्याएर यही क्षेत्रबाट विजयी भएका थिए। तर, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पौडेलले यसपटक आफ्नो पुरानो साख जोगाउन सकेनन्। विजयी उम्मेदवार सस्मितले प्राप्त गरेको मतको तुलनामा पौडेल र अन्य प्रतिस्पर्धीहरूको मत निकै नगन्य देखियो।
दिग्गजहरूको लज्जास्पद बहिर्गमन
लामो समय सत्ता र शक्तिको केन्द्रमा रहेका एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलको नतिजा यसपटक निकै निराशाजनक रह्यो।
पूर्व उपप्रधानमन्त्री तथा पट-पटक मन्त्री भइसकेका पोखरेलले जम्मा ४ हजार ७०१ मत मात्र प्राप्त गरे। यस क्षेत्रबाट छैटौं पटक चुनावी मैदानमा उत्रिएका उनले पार्टीभित्रको आन्तरिक मतभेद र नेतृत्व प्रतिस्पर्धीबीचको द्वन्द्वका कारण अपेक्षित जनसहयोग पाउन सकेनन्।
अनुभवी नेता भए पनि जेनजी लहर र पुराना दलप्रतिको वितृष्णाका कारण उनी छायामा परे। नतिजा सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत सस्मितको जितलाई ‘आश्चर्यजनक’ भन्दै बधाई दिएर आफ्नो हार स्वीकार गरेका छन्।
त्यस्तै, आफ्नो गृह जिल्ला मकवानपुरबाट पटक-पटक पराजित भएपछि काठमाडौं-५ रोजेका पूर्व गृहमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले पनि लज्जास्पद हार बेहोरेका छन्। उनले जम्मा १ हजार ९२२ मत मात्र प्राप्त गरे।
थापाले पनि नतिजा सार्वजनिक हुनुअघि नै हार स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई दिइसकेका छन्। यसबाहेक, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले १ हजार २२८ र कलाकार निशा अधिकारीले मात्र ९१ मत प्राप्त गरिन्। यस क्षेत्रमा खसेको कुल ५१ हजार ५८४ मतमध्ये ५० हजार २०२ मत सदर भएको थियो।
सामाजिक सञ्जालको अभियान मतपेटिकामा रूपान्तरण
काठमाडौं-५ का २५ प्रतिस्पर्धीमध्ये सबैभन्दा कान्छो उमेरका उम्मेदवार सस्मित पोखरेलको जितलाई विश्लेषकहरूले सामाजिक सञ्जालको संगठित अभियान र युवा विद्रोहको परिणामका रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमार्फत संगठित भएका युवाहरूले उठाएका सुशासन, रोजगारी, पारदर्शिता र उत्तरदायित्वजस्ता मुद्दाहरूले परम्परागत दल र तिनका नेताहरूलाई नांगो पारिदियो। यो आक्रोश र चाहना सामाजिक सञ्जालमा मात्र सीमित नभई मतपेटिकामा समेत रूपान्तरण भयो।
विजयी पोखरेलले आफू यही क्षेत्रमा जन्मिएर हुर्किएको र यहाँका गल्ली–गल्ली चहारेको हुनाले स्थानीय समस्यालाई नजिकबाट बुझेको दाबी गर्दै आएका छन्। ‘सक्षम, इमानदार र जवाफदेही युवा नेतृत्व’ को नारा लिएर उनी चुनावी मैदानमा होमिएका थिए।
काठमाडौं विश्वविद्यालयबाट स्नातक गरेका सस्मितसँग कामको अनुभव पनि रोचक छ। उनीसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयमा रहेर शैक्षिक विकास र शहरी योजनामा काम गरेको अनुभव छ।
मेयरका पूर्व सल्लाहकार तथा सहायक विज्ञका रूपमा उनले नीति निर्माणमा सघाएका थिए। साथै, उनले यसअघि काठमाडौं-८ का सांसद एवं रास्वपा नेता विराजभक्त श्रेष्ठको सचिवालयमा पनि काम गरेका थिए।
विवेकशीलको जग र रास्वपाको लहर
सस्मितको जितमा विगतको विवेकशील साझा पार्टीको विरासत र रास्वपाको पछिल्लो लहरको समिश्रण मुख्य कारण मानिएको छ। उनी विगतमा विवेकशील साझाका सक्रिय कार्यकर्ता थिए।
२०७० र २०७४ मा विवेकशीलका संस्थापक उज्ज्वल थापाले यही क्षेत्रबाट बनाएको संगठनको जग यसपटक सस्मितका लागि फलदायी बन्यो। विवेकशील साझा र रास्वपाबीच मंसिर १४ गते भएको एकताले पनि उनलाई थप बल पुर्यायो।
साथै, २०७९ को निर्वाचनमा रास्वपाका उम्मेदवार प्रणयशमशेर राणाले ५ हजार ४७७ मत ल्याउँदा समानुपातिकतर्फ भने रास्वपाले ११ हजार ६४७ मत पाएको थियो। सोही आधारमा यहाँ रास्वपाको बलियो उपस्थिति थियो।
सस्मित स्वयंले पनि २०७९ को प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार (लालटिन चिह्न) बनेर १ हजार ५२ मत ल्याई चुनावी अनुभव बटुलिसकेका थिए।
यसपटक रास्वपाको ‘क्रेज’, पार्टी एकता र सस्मितको निरन्तरको सक्रियताले काठमाडौं-५ को राजनीतिक समीकरण नै उल्ट्याइदिएको छ।
फागुन २३, २०८२ शनिबार ०८:४२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।