रुकुम पूर्वबाट ‘प्रचण्ड’ १० हजार मत ल्याएर विजयी

रुकुम पूर्वबाट ‘प्रचण्ड’ १० हजार मत ल्याएर विजयी

रुकुम पूर्व : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम (पूर्वी भाग) निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणाम घोषणा पत्रअनुसार प्रचण्डले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्।

पाँचकुने तारा चुनाव चिन्ह लिएर उठेका प्रचण्डले कुल सदर मतमध्ये सर्वाधिक १० हजार २४० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकाका उम्मेदवार लिलामणी गौतमले ३ हजार ४६२ मत मात्र प्राप्त गरे। प्रचण्डले एमालेका गौतमलाई ६ हजार ७७८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

त्यसैगरी, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापाले ३ हजार ८१ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखन कुमार थापा ८१९ मतसहित चौथो स्थानमा सीमित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिस्ने-५, रुकुम (पूर्वी भाग) बाट आधिकारिक प्रमाणपत्र जारी गर्दै प्रचण्डलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो।

फागुन २२, २०८२ शुक्रबार १८:४७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।