जितपछि रञ्जुले भनिन्-यस्तो मज्जाको जित भएको छ, अब काम गरेर देखाउनै पर्छ
काठमाडौँ : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले पार्टीको मज्जाको जित भएको तर अब जसरी पनि काम गरेर देखाउनु पर्ने चुनौती आएको बताइन्।
सार्वजनिक भएको अन्तिम तथ्याङ्क अनुसार रन्जुले १५ हजार ४ सय ५५ मत प्राप्त गरेकी छिन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत मात्र प्राप्त गरेका थिए।
विजयी घोषणा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ३६ वर्षदेखि बारम्बार मतदातालाई धोका दिइरहेकाहरूलाई मतदाताले ढोकै बन्द गरिदिएको बताउँदै उनले भनिन् "हाम्रो यस्तो मज्जाको जित भएको छ अब काम गरेर देखाउनु पर्छ, जसरी पनि देखाउनै पर्छ।"
विवेकशील अभियानबाट राजनीतिमा आएकी उनले आफ्नो जीत वैकल्पिक राजनीतिको पनि जीत भएको भन्दै जित विवेकशील अभियानका संस्थापक उज्जवल थापालाई अर्पण गरिन्। उनले काठमाडौँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद दिँदै वास्तविक चुनौती अब सुरु भएको बताइन्।
फागुन २२, २०८२ शुक्रबार १४:४७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।