रास्वपाको उम्मेदवारी रद्द भएको धनुषा-१ मा मतगणना स्थगित, आयोगको निर्देशन पर्खिँदै

रास्वपाको उम्मेदवारी रद्द भएको धनुषा-१ मा मतगणना स्थगित, आयोगको निर्देशन पर्खिँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी रद्द भएपछि चर्चामा रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना कार्य अनिश्चितकालका लागि स्थगित गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै तत्काल मतगणना सुरू गर्न नसकिने जनाएको हो।

निर्वाचन अधिकृत मनोज बरालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन आयोगबाट स्पष्ट निर्देशन नआएसम्म मतगणना सुरु नहुने उल्लेख छ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मतगणना सम्बन्धमा स्पष्ट निर्देशन पाऊँ भनी श्री निर्वाचन आयोग नेपाललाई च.नं. १९८ मिति २०८२/११/२२ को पत्रद्वारा पत्राचार भइसकेको तर निर्वाचन आयोगबाट अहिलेसम्म निर्देशन प्राप्त भइनसकेको हुँदा आयोगबाट निर्देशन प्राप्त भएपश्चात मतगणना कार्य प्रारम्भ गरिनेछ।’

कार्यालयले मतगणना कहिले सुरू हुन्छ भन्ने यकिन नभएको र अर्को सूचना प्रकाशित नभएसम्मका लागि पर्खन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

यस क्षेत्रमा रास्वपाका उम्मेदवारको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरिदिएको थियो।

उम्मेदवारी खारेजीको विषयले कानुनी र प्राविधिक जटिलता निम्त्याउन सक्ने देखिएपछि स्थानीय निर्वाचन अधिकृतको कार्यालयले मतगणना अघि बढाउनुको साटो केन्द्र (आयोग) को स्पष्ट निर्देशन पर्खने निर्णय गरेको हो।

मतदान सम्पन्न भइसके पनि आयोगको ‘ग्रीन सिग्नल’ नपाउँदा धनुषा-१ को नतिजा प्रक्रिया अन्योलमा परेको छ।

साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो।

८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो।

यसपछि आयोगले गत ११ फागुनमा उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो। आयोगको १८ फागुनको निर्णयले उनको उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको थियो।

फागुन २२, २०८२ शुक्रबार १२:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।