अमेरिकाद्वारा भारतलाई रुसी तेल खरिदमा अस्थायी छुट, प्रतिबन्धका बीच लचिलो नीति
एजेन्सी : अमेरिकाले रुसी तेलमाथिको आर्थिक प्रतिबन्धका बाबजुद भारतलाई सीमित समयका लागि तेल खरिद गर्न अस्थायी अनुमति दिएको छ।
विश्व ऊर्जा बजारमा पर्न सक्ने सम्भावित अवरोध र आपूर्तिको दबाब कम गर्ने उद्देश्यले अमेरिकाले समुद्रमा अड्किएको रुसी तेल भारतलाई बिक्री गर्न छुट दिएको हो।
अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले एक विशेष इजाजतपत्र जारी गर्दै यो निर्णय सार्वजनिक गरेको हो।
नयाँ व्यवस्था अनुसार, सन् २०२६ मार्च ५ सम्म जहाजमा लोड गरिएको रुसी कच्चा तेल तथा पेट्रोलियम उत्पादनहरू भारतमा पुर्याउन र बिक्री गर्न पाइनेछ।
मन्त्रालयका अनुसार यस्तो तेलसँग सम्बन्धित आर्थिक कारोबार सन् २०२६ अप्रिल ३ सम्म वैध मानिनेछ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विश्व बजारमा तेलको आपूर्ति श्रृङ्खला नटुटोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको प्रष्ट पारेका छन्।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन्, ‘यो अनुमति समुद्रमा पहिले नै अड्किएको वा लोड भइसकेको तेलसँग मात्र सम्बन्धित छ। यसबाट रुसी सरकारलाई थप ठूलो आर्थिक लाभ हुने सम्भावना छैन।’
बेसेन्टले यो कदमले इरानद्वारा विश्व ऊर्जा आपूर्तिमा सिर्जना गर्न खोजिएको दबाब र तनावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
यसअघि गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका प्रमुख तेल कम्पनीहरू 'लुकोइल' र 'रोजनेफ्ट' माथि कडा प्रतिबन्धको घोषणा गरेका थिए। युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्धमध्ये यसलाई सबैभन्दा कठोर मानिएको थियो।
भारतले अमेरिकासँगको व्यापारिक सम्झौता अनुसार रुसी तेल खरिद क्रमशः बन्द गर्ने प्रतिबद्धता जनाइसकेको छ। तर, तत्काल समुद्रमा ट्रान्जिटमा रहेको तेलको व्यवस्थापनका लागि यो अस्थायी बाटो खोलिएको हो।
फागुन २२, २०८२ शुक्रबार १२:०८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।