मतदाताको फैसला स्वीकार्य, ‘बुलेट’बाट आएकालाई जस्तै ‘ब्यालेट’बाट आएकालाई स्वागत : विश्वप्रकाश शर्मा

मतदाताको फैसला स्वीकार्य, ‘बुलेट’बाट आएकालाई जस्तै ‘ब्यालेट’बाट आएकालाई स्वागत : विश्वप्रकाश शर्मा

काठमाडौं : देशभरको प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता लिइरहँदा र पुराना दलहरू पछाडि परिरहँदा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसलालाई स्वीकार गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै नेता शर्माले रास्वपाको उदयलाई स्वभाविक रूपमा लिनुपर्ने र यसलाई स्वागत गर्नुपर्ने बताएका हुन्।

शर्माले माओवादी सशस्त्र संघर्षबाट शान्ति प्रक्रियामा आउँदा कांग्रेसले देखाएको संयमताको स्मरण गर्दै रास्वपालाई पनि सोही बमोजिम स्वागत गरेका छन्।

उनले लेखेका छन्, ‘बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोऱ्याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत।’

पुराना दलहरूको कमजोर प्रदर्शन र रास्वपाको लहरलाई धेरैले आश्चर्यको रूपमा लिइरहँदा शर्माले भने यसलाई अप्रत्याशित मान्न नहुने तर्क गरेका छन्।

उनले २०७९ सालको निर्वाचनमै देखिएको संकेतका आधारमा यो नतिजा आएको उल्लेख गरेका छन्। ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन’, उनले भनेका छन्।

रास्वपाप्रति जनताको उच्च आकांक्षा रहेको भन्दै शर्माले सचेत समेत गराएका छन्। जनताको चर्को आशा अर्को निराशामा बदलिन नहुने भन्दै उनले देशका मूल प्रश्नहरूमा आफ्नो पार्टीको तर्फबाट साथ र खबरदारी दुवै रहने स्पष्ट पारेका छन्।

देशका प्रमुख स्थानहरूमा कांग्रेस पछाडि परिरहेको अवस्थामा कांग्रेसको शीर्ष तहबाट आएको यो पहिलो औपचारिक प्रतिक्रिया हो।

फागुन २२, २०८२ शुक्रबार ११:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।