काठमाडौं-१ मा रञ्जु दर्शनाको जित पक्का, गन्न बाँकी मतभन्दा मतान्तर धेरै
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शनाको जित सुनिश्चित भएको छ।
मतगणना अन्तिम चरणमा पुग्दा उनले गन्न बाँकी रहेको कुल मतभन्दा बढीको अग्रता बनाएपछि गणितीय रूपमै उनको जित पक्का भएको हो।
प्राप्त पछिल्लो तथ्यांक अनुसार रास्वपाको ‘घण्टी’ चुनाव चिन्हमा रञ्जु दर्शनाले १२ हजार ७८ मत प्राप्त गर्दै फराकिलो अग्रता कायम गरेकी छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ५ हजार २१६ मत मात्र प्राप्त गरेको छ। दर्शनाले थापालाई ६ हजार ८६२ मतको भारी अन्तरले पछाडि पारेकी छन्।
त्यस्तै, यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले ३ हजार १८५ मत ल्याएर तेस्रो स्थान बनाएको छ भने सूर्यले जम्मा ९८४ मत मात्र प्राप्त गरेको छ।
कसरी भयो जित पक्का?
काठमाडौं-१ मा यसपटक कुल २९ हजार ८०२ मत खसेको थियो। जसमध्ये हालसम्म २३ हजार २२७ मत गणना भइसकेको छ। अब जम्मा ६ हजार ५७५ मत मात्र गन्न बाँकी छ।
तर, रञ्जु दर्शना र दोस्रो स्थानमा रहेको कांग्रेसबीचको मतान्तर नै ६ हजार ८६२ पुगिसकेको छ।
गन्न बाँकी रहेको सबै मत (६,५७५) दोस्रो स्थानमा रहेका उम्मेदवारले पाए पनि रञ्जु दर्शनालाई भेट्टाउन असम्भव छ। तसर्थ, औपचारिक घोषणा हुन मात्र बाँकी रहे पनि उनको जित प्राविधिक रूपमा पक्का भइसकेको छ।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार, यस क्षेत्रका कुल ५४ वटा मतदान केन्द्रमध्ये ४८ वटा केन्द्रको मतगणना सम्पन्न भइसकेको छ।
हालसम्म गनिएको २३ हजार २२७ मतमध्ये २२ हजार ७०८ मत सदर भएको छ भने ५१९ मत बदर भएको छ।
फागुन २२, २०८२ शुक्रबार ०९:१७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।